सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

प्रदेश गौरवका आयोजनामै बजेट शून्य, सवारी साधनमा मनमौजी खर्च

आइतबार, ०३ वैशाख २०८०, ०९ : ०९
आइतबार, ०३ वैशाख २०८०

पोखरा । प्रदेशस्तरीय गौरवका आयोजनामा गण्डकी प्रदेश सरकारले बजेट नै नछुट्याएको महालेखाको प्रतिवेदनले औँल्याएको छ । प्रथम पञ्चवर्षीय अन्तर्गत योजना प्रदेश गौरवका १३ र नेपाल सकारसँग स्रोत माग गरी सञ्चालन गर्ने रूपान्तरणकारी ५ आयोजनाहरू पहिचान भए पनि केही आयोजनामा बजेट नै नहालेको पाइएको हो । 

प्रदेश गौरवका आयोजना र रूपान्तरणकारी आयोजनाको स्पष्ट परिभाषा नगरिएको भए पनि यसमध्ये ९ आयोजनामा लागत अनुमान नखुलाइएको पाइएको छ । गण्डकी सरकारले क्रिकेट मैदान निर्माण लगायत विभिन्न ७ आयोजनामा यो वर्ष बजेट विनियोजन नगरेको प्रतिवेदनमा उल्लेख छ । एकीकृत प्रदेश प्रशासनिक केन्द्रको निर्माण लगायत ८ आयोजनाको भौतिक प्रगति शून्य रहेको पनि प्रतिवेदनमा भनिएको छ । 

‘बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशले प्रदेश रूपान्तरणकारी आयोजनाका रूपमा प्रदेश गौरवका आयोजना सञ्चालन गरेको देखिन्छ । उक्त आयोजना बजेट व्यवस्थापन, प्रगति स्थिति र खर्च व्यवस्थापन लगायतका पक्षमा सम्बन्धमा सुधार गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । 

प्रदेश सरकारले होमस्टे विस्तार गर्न ४६ करोड २ लाख ४२ हजार र मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ आयोजनामा ३७ लाख ७४ हजार खर्च भएकोमा सोको उपलब्धि नखुलाएको प्रतिवेदनमा उल्लेख छ । यी आयोजनाहरूको हालसम्मको प्रगति न्यून देखिएको छ । प्रदेश गौरव आयोजना घोषणा गर्दा विस्तृत सम्भाव्यता अध्ययन नै नगरिएको बताउँदै भनिएको छ, ‘आयोजना सुरु हुने अवधि यकिन हुन र सकिने अभिलेख राखेको छैन । अभिलेखको अभावमा आयोजनाहरूको समग्र कार्यान्वयनको अवस्था यकिन गर्न सकिएन ।’ 

गण्डकी सरकारको ‘मनमौजी’ खर्च !

गण्डकी प्रदेश सरकारले सवारी साधन किन्दा मनमौजी खर्च गरेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा गण्डकी प्रदेश सरकारले ९ करोड २२ लाखको सवारीसाधन मापदण्डविपरीत खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो । 

महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड २०७७ को दफा ७ (१) विपरीत सवारीसाधन खरिद भएको उल्लेख गरेको छ । सार्वजनिक खर्च गर्दा नेपाल सरकार अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिएरमात्र सवारीसाधन खरिद गर्न पाउने व्यवस्था छ । तर, गण्डकी सरकारले सावरी साधन खरिद गर्दा मापदण्ड पालना नगरेपछि महालेखाले उक्त सवारी साधन खरिद कसरी गरियो भनेर प्रश्न गरेको छ । 

प्रतिवेदनले समिति परिचालन गर्दासमेत नियमावलीको परिधिभित्र नभएको उल्लेख गरेको छ । सार्वजनिक खरिद नियमावली, २०६४  नियम ९७(१) मा १ करोडसम्म लागत अनुमान भएको निर्माण गर्दा उपभोक्ता समितिबाट गराउन सकिन्छ । तर, त्योभन्दा बढी रकम पनि समितिमार्फत खर्च भएको देखिएको छ । 

खानेपानी तथा सरसफाइ विकास डिभिजन कार्यालय, तनहुँले ५ करोड १६ लाख १० हजार लागत अनुमान भएका विभिन्न ४ योजना उपभोक्ता समितिबाट गराएको छ । खानेपानी तथा सरसफाइ विकास डिभिजन कार्यालय स्याङ्जाले पनि ३३ करोड ६ लाख १३ हजार लागत अनुमान भएका ७ योजनाको समितिमार्फत गराएको हो । सीमाभन्दा बढी रकम समितिबाट गराउनु उचित नभएको प्रतिवेदनले उल्लेख गरेको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११९ मा मूल्य समायोजन सम्बन्धी व्यवस्था छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५(२)मा एकमुष्ट कार्यसम्पादन (लमसम कन्ट्र्याक्ट) को आधारमा खरिद सम्झौता भएकोमा मूल्य समायोजन गर्न नसकिने व्यवस्था गरेको हो । 

तर, यातायात पूर्वाधार निर्देशनालय, कास्कीले लमसम प्रकृतिको डिजाइन एन्ड बिल्ट सम्झौता गर्दा सम्झौतामा मूल्य समायोजन गरी भुक्तानी दिने प्रावधान छ । निर्देशनालयले ३ निर्माण व्यवसायीलाई २ करोड ६९ लाख ९२ मूल्य समायोजन भुक्तानी गरेकाले थप व्ययभार परेको देखाएको हो ।  

मूल्य समायोजन गणना गर्दा फ्याक्टर फरक पारी निर्देशनालय पोखराले लमजुङ जिल्लाको मिदिम खोला पुलको भुक्तानीमा १२ लाख ४६ हजार, पूर्वाधार विकास कार्यालय, गोरखाले ढुंगागाडे—भन्याङ—नामजुङ—घैरुङ—मनकामना सडकमा १२ लाख ४४ हजार रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ । 

प्रतिवेदनले पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी दरबाङ सडकमा २ लाख ४२ हजार, गलेश्व—भववती—बेग सडकको २ लाख २० हजार, पूर्वाधार विकास कार्यालय बागदुङले कुस्मीसेरा—राङखानी—नामादुक—शान्तिपुरा सडकको ४ लाख ५७ र लामाबगर काठखोला पुलको भुक्तानी २० लाख १३ हजार भुक्तानी पनि असुल गर्नुपर्ने उल्लेख गरेको हो । 

पूर्वाधार विकास कार्यालय लमजुङले बागलुङ घलेगाउँ—भुजुङ सडकको भुक्तानी १ लाख २१ हजार र उदीपुर रिठ्ठेबगर—रामचोक—बेसी नौथर सडकको भुक्तानी २ लाख २८ हजार र पूर्वाधार विकास कार्यालय, तनहुँले आँबु—छिम्केश्वरी सडकको भुक्तानीमा ७२ हजारसमेत जम्मा ५८ लाख ४३ हजार बढी भुक्तानी दिएको पाइएकाले असुल गर्नुपर्ने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप