बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश राजधानी विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

सोमबार, ०४ वैशाख २०८०, १० : ५०
सोमबार, ०४ वैशाख २०८०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले विशेष समारोहका बीच आइतबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरूमध्ये १ हजार ५९२ जना बालबालिकाहरू पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरूलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताए । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गरे । ‘आज विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ,’ उनले भने, ‘प्रदेशको राजधानी पनि यहीँ भएकाले राम्रा कामको केही प्रतिशत जस हामीलाई पनि आउँछ । विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’ डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरूको अभिलेख राख्नुपर्नेमा उनले सुझाव दिए । 

मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाकाकी उपमेयर शिल्ला निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायलगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।

जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे ।

जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप