बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उपनिर्वाचन

तनहुँ–१ का ज्येष्ठ मतदाता भन्छन्– यसपालीको भोट त ‘बजाइदिने’ हो (भिडियोसहित)

बुधबार, ०६ वैशाख २०८०

तनहुँ । नन्दप्रसाद पन्त र हरिबहादुर पन्त साँझको समयमा घर नजिक बाटो छेउ बाँसको फलैँचामा बसेर गफ गरिरहेका थिए । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १, मोहरियाटार घर भएका उनीहरु यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा मतदान गर्ने प्रतीक्षामा छन् । जीवनमा धेरै पटक मतदान गरिसकेका उनीहरु यसपटकको चुनावमा भने भोट बदल्ने मनस्थितिमा भेटिए ।

उनीहरुको घर आँगनमा पनि विभिन्न पार्टीका उम्मेदवार भोट माग्न आइरहेका छन् । चुनावी माहौल कस्तो छ भन्ने प्रश्न नगर्दै उनीहरुले एकै स्वरमा भने, ‘यसपाली बजाउने भनेका छन् ।’

नयाँ र पुराना पुस्ताको त्यही नै धारणा हो भन्ने प्रश्नमा उनीहरुले भने, ‘त्यही नै हो । पार्टी कांग्रेस, एमाले जुनसुकै भए पनि ह्या जेसुकै होस् भन्ने भएको छ । प्रक्रिया गर्‍या छन् । नेताले केही गरेनन् भन्ने छ ।’

vlcsnap-2023-04-18-17h45m39s312

नन्दप्रसादका अनुसार एकथरी केटाहरु ‘सधैँ पुरानालाई हैन, अब एकपटक नयाँलाई’ भन्ने पनि छन् । कतिपय भने पुरानाकै पक्षमा रहेको पनि उनले सुनाए । उनले भने, ‘अलिकति यो क्षेत्रमा चाहिँ फरक छ ।’

जहाँसुकै भ्रष्टाचार बढेको कुराले उनीहरुको मन पोलेको रहेछ । अलिकति पुराना, पाका पुस्ताको धारणा के छ भन्ने प्रश्नमा नन्दप्रसादले भने, ‘सधैँ भ्रष्टाचारमात्र सुनिन्छ । म त पढेको पनि छैन, प्रौढ हो । जहाँ पनि भ्रष्टाचार बढ्यो, यो बाटो पिच गर्नुपर्‍यो, ठेकेदारले पनि भ्रष्टाचार गर्‍यो भन्छन् । हामीलाई केही थाहा छैन ।’

भ्रष्टाचारको कुरा धेरै सुनिए पनि कसैमाथि कारवाही भएको नसुनिएको उनी बताउँछन् । ‘नेता–नेता नै विवाद गर्दा मसँग प्रमाण छ भन्छ, पछि फेरि उनीहरुका बीचमा के के हुन्छ, अनि सेलाउँछ,’ उनले भने, ‘नियम कानुनले पनि केही कारवाही गरेको छैन ।’

नेताहरुको कामबाट जनतामा निराशा बढेको उनीहरुले सुनाए ।

IMG_5744

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ३, शेरेटार चोकको चौतारोमा हामीले डुकबहादुर थापा र उनका छिमेकी रामप्रसाद भट्टराईलाई भेट्यौँ ।

थापाका छिमेकीहरु बारीमा गोठे मल बोकिरहेका थिए । डुकबहादुर श्रीमतीसहित चौतारोमा आराम गरिरहेका थिए । चुनावको बारेमा सोध्दा उनले चुनाव आए पनि जेसुकै होस्, मतलव छैन भनेजस्तो भएको निराशा पोखे ।

उनले भने, ‘सत्र–अठार वर्षको उमेरदेखि भोट हाल्दै आएको मान्छे, अहिले ७२ वर्षको भइसकेँ, कुनै पार्टीले पनि केही गर्दोरहेनछ भन्ने बुझिसकेँ ।’

उनले भोटचाहिँ हाल्नुपर्ने अवस्था रहेको बताउँदै भने, ‘अहिलेचाहिँ इच्छा नयाँ पार्टीलाई नै छ । यतिन्जेल एउटै पार्टीलाई भोट हालियो । अब नयाँलाई दिने विचार छ । पार्टीचाहिँ बदल्ने ।’

तर चुनाव जिताएर पठाए पनि केही होला भन्ने आशा नभएको उनले बताए ।

थापाका छिमेकी रामप्रसाद भट्टराईले पनि यो पटक मत बदल्न लागेको बताए । उम्मेदवारसँग के अपेक्षा छ भन्ने प्रश्नमा उनले भने, ‘पहिला राजालाई समर्थन गर्ने पार्टीलाई भोट दिएको, अहिले आएको नयाँ पार्टी पनि राजालाई समर्थन गर्ने पार्टीजस्तो लागेको छ ।’ त्यही भएर नयाँलाई भोट दिने विचारमा रहेको उनले बताए ।

vlcsnap-2023-04-18-17h45m18s082

व्यास नगरपालिका वडा नम्बर १४, छाब्दी बाराहीका जीवराज पन्थ अपराह्न छिमेकीसँग बाटोछेउको पसलमा बसेका थिए । आउँदै गरेको उपनिर्वाचनबारे प्रश्न गर्दा उनले आफ्नो गाउँवासीले परिवर्तन खोजेको बताए । उम्मेदवारसँग तपाईको के अपेक्षा छ भन्ने प्रश्नमा उनले भने, ‘अब परिवर्तन गर्ने बुझिएको छ यहाँका जनताको ।’ पहिलेका नेताले केही गर्दैनन् भन्ने कुरा सबैले बुझेको उनले बताए ।

vlcsnap-2023-04-18-17h45m27s772

यस्तै व्यास नगरपालिका बानियाँगाउँमा ७० वर्षीय एक वृद्धाले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले चुनाव नजिते अर्को पटकदेखि कसैलाई भोट नदिने बताइन् । उनले भनिन्, ‘चुनाव जित्न पर्‍यो, बुढाबुढीको सेवा गर्न पर्‍यो ।’

व्यास नगरपालिका–६, पातालकी पार्वती श्रेष्ठले ओमानमा रहेका ज्वाइँले परिवारबाट जाने ७ भोटमध्ये एक भोटचाहिँ नयाँ पार्टीलाई दिनु भनेको सुनाइन् ।

vlcsnap-2023-04-18-17h45m23s056

चुनावको मुखमा कतिपयले पार्टी फेरेको पनि भेटियो । लामो समयदेखि एउटै पार्टीमा मत हालेका अक्कल बहादुर बानियाँले यस पटक आफूसहित परिवारका सदस्यले फरक पार्टीमा मतदान गर्न लागेको सुनाए ।

यसअघि नेपाली कांग्रेसबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । मतदानअघि स्थलगत रुपमा तनहुँ क्षेत्र नम्बर १ का विभिन्न स्थानमा पुगेर मतदाताको मनस्थिति बुझ्दा उनीहरुले मत परिवर्तन गर्न खोजेको संकेत गरेका छन् ।

यो क्षेत्रमा विभिन्न ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

IMG_6256

IMG_5934

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया