बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि तामाङलाई

शुक्रबार, ०८ वैशाख २०८०, ११ : १८
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक सुबास तामाङले जितेका छन्। प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबास लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्। यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो।

उनले अन्तिम दिन ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३-अन्डर २ सय ७५ को स्कोर बनाए। १-अन्डर ७१ सहित समग्रमा ९-अन्डर २ सय ७९ को स्कोर मा सञ्जय प्रोफेसनलतर्फ पहिलो भए। समग्रमा भने उनी दोस्रो भए। उनले एक लाख चालिस हजार प्राप्त गरे।

समग्रमा ४-अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्तरूपमा प्रोतर्फ दोस्रो स्थान बाँडे। नीरजले २-अन्डर ७० र जयरामले ६-अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरे। उनीहरूले जनही ७८ हजार ५ सय हात पारे। समग्रमा २-अन्डर २ सय ६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरुपमा चौथो स्थानमा‌ प्रतियोगिता सकाए। रमेशले ४-अन्डर ६८ र भुवनले ३-ओभर ७५ मा अन्तिम दिनको खेल सकाए। दुवैजनाले जनही ५१ हजार प्राप्त गरे।

रबि खड्काले समग्रमा इभन-पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन उनले ६-ओभर ७८ को खराब प्रदर्शन गरे। कमल तामाङ र तोरण विक्रम शाहीले संयुक्तरुपमा सातौं स्थान बाँडे। तोरणले इभन-पार ७२ र कमलले ३-ओभर ७५ को स्कोरमा समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा‌ खेल सकाए। उनीहरूले ३५ हजार ५ सय प्राप्त गरे।

२-ओभर ७४ सहित समग्रमा ८-ओभर २ सय ९६ को स्कोरमा धरानका बलभद्र राई नवौं भए। उनले ३२ हजार हात पारे। समग्रमा १०-ओभर २ सय ९८ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७-ओभर ७९ खेल्दै पोखराका प्रो भुबहादुर गुरूङ १०औं हुँदै ३० हजार प्राप्त गरे।  

प्रो र एमरच्योर दुवैतर्फको उपाधि सुबाशले जित्दा युवा गल्फर सदभाव आचार्य एमरच्योरतर्फ दोस्रो भए। ४-ओभर ७६ मा अन्तिम दिनको खेल सकाउँदा उनले समग्रमा इभन-पार २ सय ८८ को स्कोरमा प्रतियोगिता सकाए। समग्रमा ३-ओभर २ सय ९१ सहित टासी छिरिङ तेस्रो भए।

अन्तिम दिनको खेल सुरूवात गर्दा सुबाशसँग दुई स्ट्रोकको अग्रता थियो। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गर्दा उनलाई कुनैपनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन्। दोस्रो होलमा एक सट खेर फाले। तर त्यसपछि तेस्रो, पाँचौ, छैटौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए। ११औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गर्दै एक समय ६ स्ट्रोकको अग्रता बनाइसकेका थिए। तर १५औं होलमा डबल बोगी खेपे भने १८औं होलमा एक सट खेर फाले।

सञ्जयले तेस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि सातौं होलमा एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा टुङ्गाए। यसपछि ११औं र १४औं होलमा बर्डी प्रहार गरे। तर १०औं र १६औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप