सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशी उत्पादनलाई दर्ता दिन चौतर्फी दबाब, महावीर पुनले लेखे– आन्दोलनको नेतृत्व म गर्छु

शनिबार, ०९ वैशाख २०८०, २० : ४६
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । विद्यमान कानुनलाई देखाएर सरकारले स्वदेशी उत्पादनका सवारी साधनलाई दर्ता दिन नमानेपछि चौतर्फी दबाब सुरु भएको छ । सवारी दर्ता सम्बन्धी मुद्दामा रातोपाटी टडकमले केही दिनयता निरन्तर फलो गरिरहेको छ । शुक्रवारको पछिल्लो रिपोर्ट ‘सरकारले दर्ता नदिएपछि ‘यात्री’ उत्पादक विदेश पलायन’ शीर्षकमा समाचार प्रकाशित भएसँगै थप सनसनी मच्चिएको छ । उद्योगी, व्यवसायी, बुद्धिजीवीदेखि आविष्कारक वैज्ञानिक समेत मुद्दामा सक्रिय भएका छन् ।

यसै मुद्दामा केन्द्रित हुँदै राष्ट्रिय आविष्कार केन्द्रका फाउन्डर समेत रहेका वैज्ञानिक महावीर पुनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने सरकार विरुद्ध आन्दोलनमा होमिन सबैलाई सार्वजनिक आह्वान गरेका छन् । सोही अवसरमा पुनले आन्दोलनको नेतृत्व आफैले गर्ने समेत अभिव्यक्ति दिएका छन् ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि बृहत् जनआन्दोलन सुरु गरौँ । नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीलाई सरकारबाट अनुमति दिलाऔँ । यात्री मोटरसाइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरू बनेका छन्’ पुनले लेखेका छन्, ‘काठमाडौँ उपत्यकाबाट बृहत् आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्नेछु ।’ 

‘अनुसन्धान र नबप्रबर्तनप्रति गण्डकी प्रदेश सरकारले मलाई र सङ्घीय सरकारले यात्री मोटरसाइकल टिमलाई गरेको अपमानजनक व्यवहारले मलाई सिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ । मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि । पहिला आन्दोलन गरौँ र वार्ता पछि गरौँला ।’

पुनले थप लेखेका छन्, ‘लु अब युवाहरू उठौँ र आन्दोलनको तयारी गरौँ । आन्दोलन व्यवस्थापनमा काम गर्न चाहनेहरूको फेसबुक, भाइवर, व्हाटसप, ट्विटर, इन्स्ताग्राम एकाउन्ट बनाएर अगाडि बढ्नुपर्छ । यो कुनै राजनैतिक आन्दोलन होइन तर राजनैतिक पार्टीहरुले भाग लिन सक्ने छन् । युवाहरूको आन्दोलन दरो हुन्छ । छलफल पछि आन्दोलनको मिति तोकिने छ ।’ 

यस्तै विभिन्न क्षेत्र, पेसा व्यवसाय गर्ने, सरकारी कर्मचारी तथा पूर्व कर्मचारीहरूले समेत राज्यको नीतिको खुलेर विरोध गरेका छन् ।

mabir

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप