बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक

आइतबार, १० वैशाख २०८०, १३ : ४१
आइतबार, १० वैशाख २०८०

सगरमाथा आधार शिविर । बुक्स राईटिङ नेपाल प्रालिद्वारा प्रकाशन गरिएको विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको किताब सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै ‘हिमालयन म्याभरीक’ (Himalayan Maverick) नामक किताब विश्व कीर्तिमानी पर्बतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्वजनिक गरेका हुन् । 
शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । त्यसैगरी ५९ दिनभित्र  विश्वकै पहिलो र दोश्रो सर्वोच्च शिखर सगरमाथा र के टु को सफल आरोहण गरेर दोश्रोपटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम सुनौलो अक्षरले लेखाए । 

विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाले कार्यक्रममा बोल्दै भने, ‘हिमालमा अनगिन्ती कथाहरू छ्न्  ती कथाहरुलाई यसरी किताबको रूपमा लेखिनु निकै सुखद कुरा हो । हिमाल आरोही शेर्पाहरु हिमाल आरोहणका अलावा पुस्तक अध्ययन र किताब लेखन जस्ता बौद्धिक क्षेत्रमा निरन्तर अघि बढेको देख्न पाउनु मेरो अहोभाग्य हो ।’ हरेक आरोहीहरुले यसरी नै आफनो अनुभव लेखिराखे नयाँ आरोहीहरुलाई सजिलो हुने उनले बताए । 

त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले पनि सगरमाथा आधार शिविरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाद्वारा आफ्नो किताब सार्वजनिक गर्न पाउँदा निकै गर्व र खुःसी महशुस भएको सुनाए । सोलुखुम्बु जिल्लाको दक्षिण पूर्वी भागमा पर्ने सानो शेर्पा गाउँ मामेर्कुको सामान्य किसानी परिवेशबाट, ट्रेकिङ क्षेत्रमा भरिया हुँदै हजारौं उतारचढावका बीच यो किताबसम्म आइपुग्दा जीवन रङ्गिबिरङ्गी फुलहरुले रङ्गिएको बगैंचा झै लागेको बताए । 

बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङका अनुसार हिमाल आरोहणको क्षेत्रमा पर्दा पछाडी थुप्रै नेपाली  हिरोहरु छन्। उनीहरुलाई हामी नेपाली आफैंले बिस्वसामु चिनाउन सकेनौं । उनले भने, ‘विदेशीहरुले आफ्नै हिसाबले ब्याख्या गरिरहे । ब्याख्या भन्दा पनि बढि अपब्याख्या भएको र भैरहेको जस्तो लाग्छ । हाम्रो कुरा हामीलाई भन्दा बढि विदेशीहरुलाई त पक्कै थाहा छैन नै । अनि हाम्रो यथार्थ कुरा हामी आफैंले लेखेर किन दुनियाँलाई नबताउने ? र शुरूवात गर्यौ हामीले ।’

हिमालको कथा लेख्ने क्रममा पहिलो पात्रका रूपमा लाक्पा देन्डी शेर्पालाई पायौं । उनकै कथाहरुलाई  शेर्पा आरोहिहरुको प्रतिनिधि भोगाईको रूपमा (Himalayan Maverick) ल्याएको उनले बताए।  ('Himalayan Maverick' amazon) मार्फत पनि चाँडै नै वर्ल्डवाईड उपलब्ध हुने उनले जानकारी दिए।  ‘थुप्रै नेपाली, विश्व कीर्तिमानी आरोहीहरु हुनुहुन्छ, उनीहरुको किताब पनि बिस्तारै बजारमा ल्याउनेछौ’ उनले थपे । सबै कुरा किताब पढेपछि थाहा भैहाल्ने बताउँदै उनले भने, ‘शेर्पा बिना हिमाल आरोहण, करिब करिब असम्भव जस्तै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप