बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीको रोहिणी सिँचाइ आयोजना अलपत्र

आइतबार, १० वैशाख २०८०, १४ : ३०
आइतबार, १० वैशाख २०८०

रुपन्देही । रुपन्देहीको तिलोत्तमा र देवदह क्षेत्रमा सिँचाइ सुविधाका लागि निर्माण गर्न थालिएको रोहिणी सिँचाइ आयोजना अलपत्र अवस्थामा छ । तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न प्राविधिक कारण देखाउँदै अलपत्र अवस्थामा छोडिएको छ ।

आयोजनाको काम आर्थिक वर्ष ०७३÷०७४ बाट सुरु भएको हो । हालसम्म करिब ४० करोड रकम यो आयोजनामा खर्च भइसकेको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १० र देवदह नगरपालिको वडा नम्बर २ को संगमस्थल रोहिणी नदीमा ३ हजार ५०० मिटर लम्बाइको ताल बनाई ८०० मिटर चौडाइ र ५० मिटर गहिराइसहितको ड्याम बनाएर तिलोत्तमा र देवदह क्षेत्रमा १ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने योजना थियो ।

आयोजनाको बायाँतर्फ २ हजार ६५५ लिटर प्रतिसेकेण्ड पानीको बहाव क्षमतासहितको क्यानल तयार भएको छ । त्यस्तै तिलोत्तमातर्फ ९६५ लिटर प्रतिसेकेण्ड पानी जाने गरी क्यानल तयार भएको छ । तर बाँकी काम अधुरै छोडिएको छ ।  

कुल १५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यसहित निर्माण रोहिणी सिँचाइ आयोजनाको त्रुटिपूर्ण डिजाइन, निर्माण कम्पनी तथा परामर्श दाताको कमजोरी देखाउँदै अलपत्र अवस्थामा छोडिएको छ । पहिले संघ सरकार मातहत रहेको यो योजना पछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

महालेखापरीक्षकको कार्यालय लुम्बिनीले २०७८÷७९ को प्रतिवेदनमा योजनाको त्रुटिपूर्ण डिजाइन तयार पार्ने, जाँच वा स्वीकृत गर्ने अधिकारी र सो कार्यमा संलग्न परामर्शदाताहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीको रोहिणी सिँचाइ योजना अन्तर्गत हेडवर्क, गाइडवण्ड र प्रोटेक्सन निर्माण कार्यमा रु ३० करोड ७७ लाख ६८ हजार र नहर संरचनाबापत ८ करोड ७८ लाख ५१ हजारसमेत कुल ३९ करोड ५६ लाख १९ हजार रुपैयाँ खर्च भए पनि योजना सञ्चालनमा नदेखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोजना सम्पन्न भएर कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउने बेला बाँध क्षेत्रको डिजाइन गलत भएको र त्यसले नजिकका बस्ती बाढीले प्रभावित भएपछि पुनः मूल्याङ्कन तथा डीपीआर निर्माण गर्ने कामसमेत भएको छ । हरेक निर्वाचनमा नेताहरुको चुनावी एजेण्डा बन्ने गरेको रोहिणी सिँचाइ आयोजनाले करोडौं रकम स्वाहा पारेर अलपत्रमात्र छैन, वर्षायाममा आसपासका बस्तीसमेत बाढीको त्रासमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ ।

संघीय सरकारको ४७ करोड २४ लाख ८६ हजार लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीले आयोजना अघि बढाएको थियो । डिभिजन कार्यालय रुपन्देहीले २०७४ साल जेठ ४ गते अर्घाखाँची बबुल जेभीलाई २०७७ जेठ ३ गतेसम्म सिँचाइ आयोजना सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लगाएको थियो ।

आयोजना सम्पन्न नहुँदै बाँधका कारण बस्तीमा बाढी पस्न थालेपछि पुनः मूल्याङ्कनका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीले डीपीआर समेत तयार पारेको छ । डीपीआर निर्माण बापत मन्त्रालयले भुक्तानी नदिएपछि नहरको कुनै पनि काम अघि नबढेको डिभिजन प्रमुख विष्णु प्रसाद पौडेलले बताए ।

तिलोत्तमा र देवदह नगरपालिकाको सीमा हुँदै बग्ने रोहिणी नदीलाई बाँध (जलासय) बनाएर सिँचाइ गर्ने गरी आयोजना अघि बढाइएको हो । अर्घाखाँची बबुल जेभीले जलाशय (बाँध) का लागि २८ करोड ४० लाख ६६ हजार र नहरका लागि ८ करोड १ लाख २३ हजार गरी ३६ करोड ८२ लाख ३९ हजारमा ठेक्का सकारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप