बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रममा लगानी गर्न एडिबीलाई उपाध्यक्ष श्रेष्ठको आग्रह

सोमबार, ११ वैशाख २०८०, १४ : ३३
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाहरूको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो । उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादन मूलक र रोजगारी सिर्जना हुने परियोजनाहरूमा लगानी आवश्यक रहेको बताए । उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरूमा लगानी गर्न एडिबीसँग अनुरोध समेत गरेका छन् । 

एडीबीका कन्ट्री हेड कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरूमा लगानी गर्न एडिबी तयार रहेको बताए । एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरूको पोर्टफोलियो सुधारिएको समेत बताए । 

एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ बिलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा यस्तो लगानी गरेको हो । 

गत वर्ष मात्र एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । 

पेर्टफोलियो रिभ्यू कार्यक्रममा एडिबीले सहरी खानेपानी तथा सरसफाइ आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तिय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृत समेत गरेको थियो ।

मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजना लगायत दर्जनौँ आयोजनाहरुमा एडिबीले लगानी गरेको छ । 

भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक सृजना राजभण्डारी सहभागी थिए ।

शिष्टाचार भेटवार्तामा आयोग र एडीबीबीच सहकार्यका विषयमा छलफल भएको छियो । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप