आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

सत्ताको ‘दाउपेच’ले तीन दिनसम्म पनि गण्डकीमा नयाँ सरकार अनिश्चित !

सोमबार, ११ वैशाख २०८०, १६ : ४०
सोमबार, ११ वैशाख २०८०

पोखरा । एमालेका खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले विश्वासको मत गुमाएर पदमुक्त भएको तीन दिन बितिसक्यो । एमाले सरकार ढलेको तीन दिन बित्दा पनि प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अझै अघि बढेको छैन । दलहरुबीच नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निश्चित नहुँदा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको आहन गर्नै ढिलाइ गरेको स्रोतले जनाएको छ ।

शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो । प्रदेशसभामा उपस्थित ५९ सदस्यमध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत परेको थियो । यससँगै पुस २५ गते बनेको अधिकारी नेतृत्वको एमाले सरकार एक सय पाँच दिनमा ढल्न पुग्यो । नयाँ सरकार नबन्दा अधिकारीले काम चलाउ सरकारको नेतृत्व गरिरहेका छन् ।

सत्ता गठबन्धनबाटै एमालेबाहेकको सरकार बन्ने निश्चित रहेपनि कसको नेतृत्व रहने भन्नेमा अन्योल कायमै छ । सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट कुन दलले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति भइनसकेकाले अन्योलता देखिएको हो ।

सत्ताको नेतृत्व गर्न दुवै दलले आफ्नो आफ्नो दाउपेच थापिरहेका छन् । नेकपा माओवादीले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार नै सरकार बन्नुपर्छ अडान राखेको छ । भने नेपाली कांग्रेसले उपधारा ३ अनुसार सरकार बन्नुपर्छ भन्ने अडान छ । सोमबार नेपाली कांग्रेसका संसदहरु केन्द्रीय नेता भेट्न काठमाडौं पुगेका छन् । पूर्व कानुनमन्त्री तथा सांसद विन्दु थापाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन केन्द्रीय नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको सुनाए । ‘हाम्रा माग संसदमा २७ सिट रहेको कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हो । तर, माओवादीका साथीहरुले पनि आफ्नो नेतृत्वमा सरकार प्रयास गरिरहनुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ सोमबार छलफल भएर मंगलबारसम्म सरकार गठन आह्वान हुन्छ ।’

शीर्ष नेतासँग उनहरुले कांग्रेसले धारा ३ अनुसार सरकार गठनका लागि आहन गर्नुपर्ने र सोही अनुसार आफ्नो नेतृत्वमा सरकार गठन गर्न माग गरेका छन् । यता माओवादीले पनि आफ्नो दाबी छाडेको छैन । ‘हिजो पनि हामीहरुले कांग्रेस एमालेलाई सघायौं । अब हाम्रो पालो हो,’ माओवादीका एक सांसदले भने, ‘सर्वोच्चको पछिल्लो व्याख्या अनुसार जुनसुकै हालतमा पनि उपधारा २ अनुसार सरकार गठन आहन हुनुपर्छ । हाम्रो माग पनि यहि हो ।’

प्रदेश प्रमुखले १६८ (२) अनुसार नयाँ सरकार बनाउन आह्वान गरे आफ्नो नेतृत्वमा सरकार गठन गर्ने माओवादीको तयारी छ भने उपधारा ३ अनुसार आहव भए आफ्नो नेतृतवमा सरकार कांग्रेसको तयारी छ । जसमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ । संविधानको धारा १६८ (२) अनुसार आह्वान भएमा मिलिजुली सरकार बन्नेछ ।

शनिबार प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान हुने बताएका थिए । यद्यपि तीन दिन हुँदा समेत प्रदेश प्रमुखले आहन गर्न सकेका छैनन् । ‘संविधानको कुन धाराबाट सरकार बन्छ भन्नेतिर म जान्नँ । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आह्वान गनुहुन्छ । सोही अनुसार सरकार बन्छ,’ उनले भनेका थिए, ‘मलाई लाग्छ । छिट्टै नयाँ सरकार बन्छ ।’   

नेकपा माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले अब गण्डकीमा संविधानको धारा १६८ (२) अनुसारकै सरकार बन्ने दाबी गरिरहेका छन् ।  उनले यसअघि पनि सोही धारा अनुसार सरकार बनेकाले अब पनि उक्त धारामै सरकार बन्ने दाबी गरे । ‘अबको प्रकृया विश्वासको मत प्राप्त नगरेको कुरा प्रदेश सभाले प्रदेश प्रमुख कार्यालयमा जानकारी दिन्छ,’ दलका नेता हरिबहादुर चुमानले भने, ‘सर्वोच्च अदालतको पछिल्लो व्याख्यालाई ध्यान दिएर प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २  अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार बनाउन आह्वान गर्नुहुन्छ । यसपछि सरकार गठन हुन्छ ।’

प्रदेश प्रमुख पृथ्वीमान गुरुङ कुन धारा अनुसार सरकार गठनका लागि आह्वान गर्ने परामर्शमा छन् । आइतबार काठमाडौँबाट शीर्ष नेतासँग परामर्श लिएर फर्केपनि प्रदेश प्रमुख गुरुङ धारा छनोट गर्न अनिर्णित बनेका हुन् । सत्तारुढ दलका शीर्ष नेताहरुले आफ्नो अनुकूल धारा उल्लेख गरेर सरकार गठन गर्न भनेपनि प्रदेश प्रमुखले निर्णय लिन सकेका छैनन् । स्रोतका अनुसार सरकार गठन ढिलाइ हुनुमा तनहुँको उपनिर्वाचन पनि रहेको नेताहरु बताउँदै आएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप