बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संसद्को चालु अधिवेशन १५ गतेसम्म चलाएर अन्त्य गर्ने तयारी

सोमबार, ११ वैशाख २०८०, १७ : ४१
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठकले संसदीय समितिहरुको टुंगो लगाएका छन् । 

सोमवार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संयुक्त संसदीय समिति संसद्का दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले नेतृत्व गर्नेगरी टुंग्याएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाइ समितिमा सभापति नेपाली कांग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको बताए ।

उनले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको पनि बताए । उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक भने १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको जानकारी दिए ।

त्यस्तै संसदीय सुनुवाइ समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउने सहमति पनि भएको छ । गिरीले चालु अधिवेशन यहीँ वैशाख १५ गतेसम्म चल्ने र अन्त्य गर्ने सहमति समेत भएको जानकारी दिए ।

‘विशेष समिति १५ सदस्यीय हुन्छ । संसदीय सुनुवाइ समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउँछ । अधिवेशन १५ गतेसम्म चल्छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाइ छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति भएको भन्दै चालु संसद् अधिवेशन अब एक, दुई दिनमात्रै चल्ने बताए ।

‘आज शीर्ष तहको बैठक बसेर सहमतिका साथ अघि जाने सहमति भएको छ । अहिलेसम्मका बाँकी रहेको विषयहरु व्यवस्थित गरेर अघि बढाउने भन्ने छलफल भएको छ । टिआरसीको विषय विशेष समिति बनाउने, त्यो १५ सदस्य हुने, अर्को अधिवेशनको निश्चित समयमा त्यसलाई पारित गर्ने भन्नेछ । भोलिको बैठकबाट नै हामी विशेष समिति, संयुक्त समिति सबै मिलाएर अघि बढ्छौँ’ पाण्डेको भनाइ छ ।

त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् भित्र भएका सबै राजनीतिक दलहरुसँग आपसमा सहमतिका आधारमा नै संसद् सञ्चालन गरेर अघि बढ्ने सहमति अनुसार शीर्ष दलका नेताहरुबीच सहमति भएको बताए ।

उनले सबै दलहरुलाई समेटेर नै विषयगत समितिहरु पनि टुंग्याइएको बताए ।

‘हामीले संसद् भित्र भएका सबै राजनीतिक दलहरुसँग आपसमा सहमतिका आधारमा नै संसद् सञ्चालन गर्नुपर्छ । संसद् सञ्चालनको विषय सहमतिको आधारमा नै हुनुपर्छ । त्यही अनुसार विषयवस्तु टुंगिएका छन्’, लेखकको भनाइ छ ।

प्रमुख सचेतक लेखकले पनि चालु अधिवेशन अब दुई, तीन दिन मात्रै सञ्चालन हुने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप