सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ठगी

गाउँपालिका अध्यक्षका छोरा नै फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठग्दै

पढ्न गएका विद्यार्थीलाई काममा लगाइदिने भन्दै लाखौँ असुल
मङ्गलबार, १२ वैशाख २०८०, १० : ४६
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेका छोरा रमेशले फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको पाइएको छ । विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको पाइएको हो ।

एनआरएन नेशनल कोअर्डिनेसन काउन्सिल फिनल्याण्डले सचेत रहन भन्दै उनको बारेमा सूचना नै जारी गरेको छ । पाण्डेका छोरा रमेश फिनल्याण्डमा बस्दै आएका छन् । त्यहीँ बसेर उनले नेपालबाट विद्यार्थीहरूलाई फिनल्याण्ड लैजाने गरेका छन् ।

जबकि विदेशमा पढ्नका लागि कन्सल्टेन्सीमार्फत मात्र जान पाइन्छ । गैर कानुनी रूपमा नेपालीहरूलाई फिनल्याण्ड बोलाउने र उनीहरू वर्किङ भिसाको प्रलोभन देखाएर ठगी गर्ने गरेको पाइएको हो ।

त्यसरी ठगी पर्नेमा उनकै चिनजान तथा नातेदारहरू छन् । हालसम्म रातोपाटीको सम्पर्कमा ४ जना पीडित आएका छन् । उनीहरूको परिचय भने गोप्य राखेका छौँ ।

उनीहरूलाई रमेशले गत वर्ष स्टुडेन्ट भिसामा फिनल्याण्ड बोलाएका थिए । त्यसका लागि सबै प्रक्रिया रमेशले नै गरेका थिए । फिनल्याण्ड पुगेपछि स्टुडेन्ट भिसालाई काम गर्ने भिसा (वर्किङ रेसिडेन्स परमिट) मा रूपान्तरण गरिदिने भन्दै ती पीडितबाट उनले २३ हजार यूरो लिएका थिए । जबकि उक्त भिसा परिवर्तनका लागि फिनल्याण्डमा १६० यूरोमात्र खर्च लाग्ने गरेको छ ।

‘मबाट स्टुडेन्ट भिसालाई वर्किङमा कन्भर्ट गरिदिने भनेर सुरुमा त थोरै पैसा मागेका थिए । पहिला मसँग १० हजार यूरो मागे । त्यो पैसा दिएँ । त्यसपछि विभिन्न बहाना गरेर १२ हजार यूरो मागे । त्यसपछि पनि उनले थप पैसा मागे, मैले जम्मा २३ हजार यूरो तिरेँ । तर, काम भने गरिदिएनन्,’ ती पीडितले भने ।

उनले पछि बुझ्दै जाँदा वर्किङ भिसामा कन्भर्ट गर्न १६० यूरो लाग्ने मात्र जानकारी पाए । त्यसपछि उनलाई पैसा फिर्ता दिन आग्रह गरे । तर, रमेशले मानेनन् ।

आफूले पैसा केका लागि खर्च गरियो भनेर प्रमाण माग्न थालेपछि रमेशले अनेकन बहाना बनाउन थालेको ती पीडितको भनाइ छ ।

रमेशले पीडितहरूकै नामको जिमेल आईडी खोलेका थिए । जुन इमेल उनी आफैँले चलाउँदै आएका थिए । त्यही जिमेलबाट वर्किङ भिसाका लागि उनले एप्लाई गरेका थिए ।

रमेशले ती पीडितले पैसा माग्न थालेपछि आफैँले भिसा रद्द गराउन लगाए । र अहिले ती पीडितलाई फिनल्याण्ड सरकारले ३० अप्रिलभित्र देश छोड्न भनेको छ । त्यसका विरुद्धमा ती पीडितले कानुनी उपचारको प्रक्रिया अगाडि बढाएका छन् ।

त्यस्तै नवलपरासीका अर्का पीडितसँग उनले १९ हजार यूरो ठगी गरेका छन् । स्टुडेन्ट भिसामा रमेशले नै उनलाई फिनल्याण्ड लगेका थिए । त्यसपछि स्टुडेन्ट भिसालाई वर्किङ भिसामा कन्भर्ट गरिदिने भनेर पैसा मागेका हुन् ।

‘स्टुडेन्ट भिसालाई वर्किङमा कन्भर्ट गर्‍यो भने कलेज फि पनि तिर्नुपर्दैन । धेरै राम्रो हुन्छ भनेर अनेकन प्रलोभन देखाएर भिसा परिवर्तन गराउन लगायो । त्यसका लागि सुरुमा प्रोसेसिङ चार्ज भनेर २ हजार ५०० यूरो माग्यो,’ ती पीडितले भने ।    

त्यसपछि इन्टरभ्यू हुन्छ, वकिललाई थप पैसा दिनुपर्छ भनेर पैसा माग्दै गएको ती पीडितको भनाइ छ । त्यसरी उनले आफूसँग १९ हजार यूरो मागेको उनले रातोपाटीलाई बताए । त्यसमा १८ हजार यूरो वकिललाई र १ हजार यूरो आफ्नो खर्च भनेर मागेको पीडितले बताए ।

ती पीडितले १२ हजार यूरो सापटी खोजेर दिए । बाँकी पैसा नेपालबाट उनको अंकलले ७ लाख १० हजार बैंक खातामा हालिदिए ।

पीडितका अनुसार रमेशले सबै पैसा क्यास नै मागेका थिए । ‘ल तिम्रो भिसा भोलि आउँछ । म भाइलाई पठाउँछु । उसको हातमा पैसा दिनु भन्यो । दुई दिन लगाएर एटीएम र बैंकबाट गरेर १२ हजार यूरो निकालेँ,’ ती पीडितले भने, ‘त्यो बेला रमेश फिनल्याण्डमा थिएन । उसको कान्छो भाइ रश्मिन लामिछाने आयो र पैसा दिएँ । बाँकी पैसा घरबाट अंकलले उनको खातामा हाल्नुभयो ।’

उनले प्रोसेस गरेको अढाई महिनामा वर्किङ भिसा आएको थियो । तर, उनी त्यसका लागि १९ हजार यूरो तिर्न बाध्य भए । जुन नेपालको २७ लाख ४० हजार रुपैयाँभन्दा बढी हुन आउँछ ।

उनले भिसा कन्भर्ट गर्नका लागि १६० यूरो मात्र लाग्ने थाहा पाएपछि पैसा फिर्ता मागे । तर, उनले सबै पैसा वकिललाई दिएको भन्दै फिर्ता दिएनन् ।

त्यसपछि ती पीडितले प्रहरीमा ठगीको उजुरी दिने चेतावनी दिए । तर, उनले आफ्नो राजनीतिक पहुँच रहेको भन्दै पीडितलाई धम्क्याउन थाले । नेपालमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको मान्छे भन्दै उनले आफूलाई कसैले केही नगर्ने धम्की दिएको ती पीडितको भनाइ छ ।

‘केस हाल्छु भन्दा केसले मेरो केही बिगार्दैन । गृहमन्त्री बालकृष्ण खाँणसँग मेरो कुरा हुन्छ । तैले जे गरे पनि केही हुँदैन भन्दै धम्की दियो,’ ती पीडितले भने ।

त्यसपछि उनले फिनल्याण्ड प्रहरीमा उजुरी दिए । त्यसपछि उनी सहमति गर्न भन्दै सम्पर्कमा आएका थिए । सहमतिको क्रममा उनले ४ हजार यूरो मात्र फिर्ता गर्न सकिने बताएका थिए । आफूलाई पूरै पैसा फिर्ता चाहिने बताएपछि कुरा नमिलेको र प्रहरीले अनुसन्धान गरिरहेको ती पीडितको भनाइ छ ।

प्रहरीमा उजुरी परेपछि ५ महिनाअघि रमेश नेपाल पुगिसकेका छन् । रमेशकै गाउँ नजिकैका अर्का पीडितकबाट समेत उनले १० लाख रुपैयाँ ठगी गरेका छन् ।

ती पीडितका अनुसार फिनल्याण्डको भिसा लगाइदिने बहानामा रमेशले १० लाख रुपैयाँ ठगी गरेका हुन् । उनी १९ जनवरी २०२३ मात्र फिनल्याण्ड पुगेका थिए । त्यसबेला भिसा आइसकेपछि डकुमेन्ट बनाउनुपर्ने बहाना देखाएर थप पैसा मागेको ती पीडितको भनाइ छ ।

स्टुडेन्ट भिसाका लागि रमेशले नै सबै प्रक्रिया अगाडि बढाएका थिए । त्यसका लागि आवश्यक पर्ने सबै डकुमेन्टसमेत रमेशले नै बनाइदिएका थिए । तर, भिसा आउने बेला ‘तेरो डकुमेन्ट पुगेन’ भन्दै त्यसका लागि थप १० लाख रुपैयाँ मागेका हुन् ।

त्यसपछि उनले फिनल्याण्ड पुगेपछि वर्किङ भिसामा कन्भर्ट गर्न भनेका थिए । तर, त्यसअघिका साथीहरू फसेको थाहा पाएपछि उनले नगर्ने भने । जसले गर्दा रमेशले उनलाई ठग्न सकेनन् ।

यतिसम्म कि रमेशले पैसा फिर्ता माग्दा उनीहरूको भिसा नै रद्द गराएर नेपाल फिर्ता पठाउने काम गराए । एकातिर उनीहरूको पैसा ठग्नसम्म ठगे भने अर्कोतिर उनीहरूको भविष्य नै बर्बाद पार्ने काम गरिदिए ।

प्रहरीमा उजुरी दिनुअघि नेपाल फिर्ता  

पीडितहरूले पैसा दिन आनाकानी गरेपछि रमेशविरुद्ध फिनल्याण्ड प्रहरीमा उजुरी दिने बताएका थिए । आफ्नो विरुद्धमा उजुरी पर्न लागेको सुइँको पाएपछि उनी सम्पर्क विहीन बने । पीडितहरूका अनुसार रमेश विगत ५ महिनादेखि फिनल्याण्डमा छैनन् ।

तर, उनको परिवारले भने एक महिना अघिमात्रै नेपाल आएको बताएको छ । आमा लक्ष्मीले एक महिना अघिमात्रै छोरा नेपाल आएको बताइन् । उक्त घटनामा उनका भाइ पनि मुछिएका छन् । पीडितले दिएको पैसा बुझ्ने काम उनका भाइले नै गरेका थिए ।

‘छोरा घर आएको एक महिना जति भयो । अहिले घरमै बसिरहेका छन् । कान्छो छोरा उतै छ,’ लक्ष्मीले भनिन् ।

पीडितहरूले भने ५ महिनादेखि फिनल्याण्डमा नरहेको बताएका छन् ।

रमेशले कसरी गरे ‘स्क्याम’ ?

रमेशले फिनल्याण्ड लगेका विद्यार्थीहरूलाई रेसिडेन्ट परमिटमा रूपान्तरण गरिदिने भन्दै प्रलोभनमा पारे । ती विद्यार्थीहरूलाई पढाई छोडेर आफ्नै निवासमा बस्ने व्यवस्था मिलाइदिए । र त्यहीँ रहेका बेला ती विद्यार्थीको नाममा नयाँ ईमेल खडा गरे । इमेलको पासवर्ड भने रमेशले आफैँसँग राखे । कतिपयले त यो इमेल खोलेकोबारे जानकारी समेत पाएनन् । 

उक्त इमेलको प्रयोग गरेर रमेशले ती विद्यार्थीहरू बनेर फिनल्याण्डका पोस्टी, सिस्कोन, सिईभोस, सोल जस्ता कम्पनीमा पत्रिका बाँड्ने एवम् सरसफाई कामका लागि आवेदन दिए । सोही इमेलमार्फत नै तिनै विद्यार्थी बनेर उनले कम्पनीसँग कुरा गरेका थिए ।

जब कम्पनीबाट कामको सहमति प्राप्त भयो, त्यसपछि रमेशले उक्त इमेलबाटै नयाँ वर्क रेसिडेन्स परमिटका लागि आवेदन दिए । ती विद्यार्थीहरूलाई आफ्नै नामबाट इमेल खोलेर आफू नै बनेर काम र भिसाको आवेदन दिइएको भन्ने कुनै जानकारी नै भएन ।

त्यो बीचमा रमेशले पीडितमध्ये कसैसँग २३ हजार, कसैसँग १९ हजार यूरो लिइसकेका थिए । केहीको नयाँ कामको भिसा प्राप्त भएको थियो । उनीहरूसँग पनि चार वर्षे भिसा लगाइदिने बहानामा पुनः सोही तरिकाले आवेदन दिए । र हजारौँ यूरो लिए ।

जब विद्यार्थीहरूले भिसा कन्भर्ट गर्नका लागि १६० यूरोमात्र लाग्ने जानकारी पाएपछि रमेशले सोही इमेलबाट उनीहरूको आवेदन रद्द गरिदिए ।

त्यो क्रममा अध्यागमन मार्फत प्रहरीले सम्पर्क गरी पीडितलाई फिनल्याण्डमा रहने÷बस्ने आधार सकिएको र डिपोर्ट हुने जानकारी दिएको थियो । र पासपोर्ट प्रहरीले नै राखिदियो ।

रमेशको कारण उनीहरूले फिनल्याण्ड बस्ने अधिकार र काम गर्ने दुवै मौका गुमाउन पुगे । त्यसपछि उनीहरूलाई कानूनी सहायताको माध्यमबाट अगाडि बढ्न भनिएको छ । उनीहरुले हाल प्रहरीमा उजुरीसमेत दिएका छन् । र डिपोर्टेशन विरूद्ध अध्यागमनको मुद्दा दर्ता गरेका छन् ।

यो विषयमा उनीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उनकी आमा लक्ष्मी देवी पाण्डे गाउँपालिका महासंघकी अध्यक्षसमेत हुन् । उनले छोराले केही पनि गल्ती नगरेको बताइन् । रातोपाटीसँग कुरा गर्दै यो विषयमा आफूले छोरासँग कुरा गरेको तर, छोराले आफूले कुनै बदमासी नगरेको बताइन् ।

‘सामाजिक सञ्जालमा उनका बारेमा कुरा आएपछि मैले सोधेकी थिएँ । तर, आफूले केही पनि गल्ती गरेको छैन भन्यो । यसमा कसरी छोरालाई मुछियो, मेरो जानकारीमै छैन,’ अध्यक्ष पाण्डेले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप