आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन मतपरिणामबारे सांसदहरुको प्रतिक्रिया–ठूला दलले कमी कमजोरी सुधार्नुपर्‍यो

मङ्गलबार, १२ वैशाख २०८०, १८ : २७
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन् । 

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका हुन् । उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताए । उनले यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने बताए । 

नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रूपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताए । उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रूपमा नलिई स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने बताए । 

त्यस्तै, नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भूमिकालाई स्पष्ट रूपमा जनता समक्ष पु¥याउन चुकेको बताए । एमालेले गरेका कामहरु जनतासम्म पु¥याउन नसकेका कारण एमाले उपनिर्वाचनमा पराजित हुनुपरेको उनले बताए ।  

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ठूला दलहरुले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताए । उनले आगामी दिनमा जनताले आफूहरुको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा वृहत् छलफल गरेर अगाडी बढ्नुपर्ने बताए । सांसद खतिवडाले नेताहरुले आफ्नो दिमाग र पार्टीलाई अपडेट गर्नुपर्ने पनि बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताए । उनले नेपाली जनताहरु परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको पनि बताए । 

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरुलाई चुनौती खडा गरेको बताए । उनले ठूला पार्टीहरुले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भिरतापूर्वक नसोच्ने हो भने चुनौती खडा हुने बताए ।  

उनले निर्वाचनमा गठबन्धन हुँदा बढी जोखिम हुने र अनौठो परिणाम आउने खतरा हुने पनि बताए । सांसद सापकोटाले वर्तमान सरकारको निरन्तरताको विकल्प नरहेको भन्दै रास्वपाले स्थिरता र स्थायित्वको बारेमा सोच्नेमा विश्वास व्यक्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप