सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकताबिहीनको आक्रोश : नागरिकता विधेयक नल्याए सांसदको घर घेर्छौं

शुक्रबार, १५ वैशाख २०८०, १५ : २५
शुक्रबार, १५ वैशाख २०८०

विराटनगर । उमेरले २५ वर्ष पुगेकी विराटनगर–१२ की मेलिना मण्डलले स्टाफ नर्ससम्म अध्ययन गरेकी छन् । तर, उनको साथमा नागरिकता नहुँदा स्वदेशमा काम गर्नेमात्रै नभएर विदेश जान पनि पाएकी छैनन् । उनको घरमा बुबा, आमालगायत सबैको अंगीकृत नागरिकता छ ।

विराटनगर–११ का चन्दन राजवंशीको उमेर पनि सोही हाराहारी छ । उनी एचए (फिजियो थेरापिष्ट) हुन् । हातमा सिप भएर पनि उनले कुनै काम गर्न पाएका छैनन् । जसको कारण हो नागरिकता नहुनु । उनी अहिले सिटी सफारी कुदाइरहेका छन् ।

‘सिटी सफारी कुदाएर बसेको छु । जहाँ गएर जागिर माग्दा पनि सुरुमै नागरिकता माग्छ । कतिपय भारतीयले नागरिकता कौडीको भाउमा किनेर यहाँ धनाढ्य भइसकेका छन् । तर, हामी नेपाली युवालाई नै सरकारले रोकेर राखेको छ । सरकारले गर्न खोजेको के हो ?,’ उनी प्रश्न गर्छन्, ‘मेरो बुबाको निधन भएको ४ महिना भयो । अहिले घरमा काम गर्नसक्ने मान्छे कोही छैनन् । मैले नै काम गर्नुपर्छ । तर, जागिर दिन कसैले मान्दैनन् । परिवार कसरी चलाउने हो ?’

उनले यसअघि विराटनगरकै अस्पतालमा काम पनि गरे । तर, नागरिकता देखाउन नसक्दा काम छाड्नु प¥यो । स्थानीय सरकारले सिटी सफारी कुदाउन पनि लाइसेन्सको माग गरिरहेको छ । ‘लाइसेन्समा कडाइ ग¥यो भने सिटी सफारी कुदाउन पनि छोड्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा म के गर्नु ? मेरो परिवारको व्यवस्थापन मैले कसरी गर्नु ?’ उनको आक्रोश छ ।

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि आजदेखि नागरिकताबिहीन युवा युवतीले नागरिकता माग गर्दै रिले अनसन सुरु गरेका छन् । नागरिकता पीडित संघर्ष समितिका प्रवक्तासमेत रहेका इसान खान मोरङमा ५ हजारभन्दा बढी व्यक्ति नागरिकताबिहीन रहेको अनुमान गर्छन् ।

‘यो सानो मुद्दा होइन । सरकारले यति लामोसमयसम्म नागरिकता पाउनबाटै वञ्चित गर्नु हुँदैन । १२ कक्षा पास गरिसकेको छ, त्यहाँ भन्दा माथि पढ्न पाएको छैन । बुबा आमाको नाममा अंगीकृत नागरिकता छ । तर, हामीजस्ता व्यक्तिहरुको जन्मदर्ता छ, पठन–पाठन गरेको प्रमाणपत्र छ । तर, अहिलेसम्म नागरिकता पाएनौं,’ उनले भने, ‘गठबन्धन सरकारले पनि राजनीतिक चलखेल र सत्ता बाँडफाँटमा बढी ध्यान दिएको छ, हामीजस्ता पीडितको समस्या समाधानमा चासो छैन ।’

तीन दिनको रिले अनसनपछि पनि सरकारले आफूहरुको मागको सुनुवाई नगरे आन्दोलनलाई अनिश्चितकालका लागि लम्ब्याउने चेतावनी उनले दिए ।

संघर्ष समितिका संयोजक धनुषाका इन्द्रजित शाही (३० वर्ष) आफूहरुको समस्या समाधान नभए आ–आफ्ना क्षेत्रका सांसदको घर घेर्ने बताउँछन् । उनले भने, ‘अब सांसदको घर घेराउ गर्ने । हाम्रो माग सम्बोधन हुँदैन भने आ–आफ्ना क्षेत्रका सांसदको घरमा जाने, घर घेर्नुपर्छ ।’

प्रतिनिधिसभा संसदमा प्रत्येक दिन एक जना सांसदले नागरिकताको विषयमा बोलिरहेको भए पनि समस्या समाधान नभएको उनको गुनासो छ । ‘बोलेरमात्रै हुँदैन । समस्या समाधान हुनुप¥यो,’ उनको भनाइ छ ।

२०६३ सालमा सरकारले घुम्ती शिविरमार्फत देशभरका १ लाख ९० हजारलाई अंगीकृत नागरिकता दिएको थियो । त्यही अंगीकृत नागरिकता पाएकाहरुका  सन्तानले भने अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । यसरी नागरिकता नपाउने देशभरमा लगभग ६ लाख बढी हुनसक्ने शाही बताउँछन् ।

सरकारले पटकपटक संसदमा ल्याएर पनि पारित गर्न नसकेको नागरिकता विधेयक तत्काल ल्याएर आफूहरुको समस्या समाधान गर्नुपर्ने उनको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप