सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

सांसद कोइरीबारे अर्को अधिवेशनमा कानुन बमोजिम हुनेछ : सभामुख घिमिरे

शुक्रबार, १५ वैशाख २०८०, २२ : ३५
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । साँझ ५ बजे आधा घण्टाका लागि भनेर रोकिएको प्रतिनिधि सभाको बैठक राती १० बजे बसेको छ । सो बैठकमा सांसदहरुको विदा स्वीकृतिका सम्बन्धनमा सभामुख देवराज घिमिरेले सांसदहरु मनोरमा शेरचन, बिनाकुमारी थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको विदा सभाबाट स्वीकृत भएको जानकारी गराएका छन् । 

हत्या आरोपी फरार सांसद लक्ष्मी महतो कोइरीको विषयमा सभामा विभिन्न विषय उठेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराए ।  साँझ ५ बजे बैठक स्थगित गर्नुपूर्व सभामुखले सांसद कोइरी पनि बिरामी भएकोले विदा स्वीकृतिका लागि सदनमा प्रस्तुत गरेका थिए । तर सत्तापक्ष दल, रास्वपा, जनमोर्चा, नेमकिपा लगायतका दलका सांसदले हत्या आरोपमा फरार रहेका सांसद कोइरीलाई बिरामी बिदा स्वीकार गर्न नसकिने भन्दै सभामुख घिमिरेको भनाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, रमेश लेखक, माओवादीका प्रमुास्ख सचेतक हितराज पाण्डे, रास्वपाका सासद रवि लामिछाने, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद चित्रबहादुर केसीले आपत्ति जनाएका थिए । सांसद कोइरीले बिरामी भएको पत्र पठाएकोलाई सभामुखले सभावाट अनुमोदन गराउन खोजेको भन्दै उनीहरुले आपत्ति जनाउँदै हत्या आरोपीलाई बिरामी भनेर संसदले प्रमाणित गर्न नहुने तर्क गरेका थिए । 

सभामा विवाद भएपछि आधा घण्टाका लागि स्थगित भएको बैठक राती ८ बजेका लागि तोकिएको थियो । तर सो निर्धारित समयमा पनि बैठक बस्न नसकेपछि राती १० बजे बैठक बसेको हो । यो बीचमा सभामुख र दलका प्रमुख सचेतकहरुबीच छलफल चलेको थियो । संघीय संसदको हिउँदे अधिवेशन आज राती १२ बजेदेखि समाप्त हुँदैछ ।

यसैबीच सभामुख घिमिरेले प्रतिनिधिसभाको पहिलो अधिवेशनमा सांसदहरुले सक्रियतापूर्वक सहभागी जनाएको धन्यवाद ब्यक्त गरेका छन् ।  उनले सभा सञ्चालनका लागि यही अधिवेशनबाट प्रतिनिधिसभा नियमावली पारित गरेको, सभालाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ बमोजिम सांसदहरुले उठाएका विषयमा मन्त्रीहरुले जवाफ दिएको बताएका छन् । उनले आगामी अधिवेशनहरुमा सदनमा उठेका विषयहरुलाई सरकारले थप महत्व दिने अपेक्षा लिएको बताएका छन् ।  

सभामुख घिमिरेले भने, देश र जनताका समसामयिक विषयहरु, नीति निर्माणका बहसहरुलाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्ने हाम्रो दायित्व हो । सदनबाट विषयगत समितिहरु समेत गठन भएको सन्दर्भमा संसदीय कामकारबाही व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्दछु ।’  उनले संसदलाई देश र जनताको पक्षमा बहस गर्ने थलोको रुपमा उपयोग गर्दै यसको महत्व र गरिमालाई उच्च राख्न सांसदहरुबाट थप योगदान रहने अपेक्षा गरेको बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप