शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
फलोअप

नेम्वाङको जग्गा धितो राखेर लिइएको कर्जामा ‘सावाँ र ब्याज’ गरी सवा दुई करोड तिर्न बाँकी

सोमबार, १८ वैशाख २०८०, १६ : ४६
सोमबार, १८ वैशाख २०८०

काठमाडौं । पाम फुड्स एण्ड बेभरेज टेक्नोलोजी प्रालिले नेपाल बैंकलाई ‘सावाँ र ब्याज’ गरी करिब दुई करोड १५ लाख रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ ।

देव कुमारी लिम्बु र रुद्रप्रसाद गिरीको नाममा रहेको उक्त कम्पनीले जग्गा धितो राखेर २०७३ जेठ र चैतमा गरेर डेढ करोड रुपैयाँ नेपाल बैंकबाट कर्जा लिएको थियो । बैंकबाट कर्जा लिँदा एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवाषचन्द्र नेम्वाङको नाममा रहेको जग्गा धितो राखिएको थियो । लिम्बु नेम्वाङको बुहारी हुन् । नेम्वाङको नाममा इलाम नगरपालिका–२ (क) मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी १५ आना जग्गा धितो राखेर लिइएको कर्जा सात वर्ष बितिसक्दा पनि चुक्ता नगरेपछि बैंकले ताकेता गरिरहेको छ ।

जग्गाको धितो मूल्याङ्कन गर्दा बैंकबाट टोली इलाममै पुगेको थियो । पूर्व सभामुखकै नाममा रहेको जग्गा धितो राखेर कर्जा दिन बैंकले कुनै आनाकानी नगरी रकम निकासा गरिदियो । तर, सावाँ र ब्याज समयमा चुक्ता नभएपछि अहिले बैंकले ताकेता गरिरहेको छ ।

बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीका अनुसार जग्गा धितो राखेर लिइएको कर्जामध्ये सावाँतर्फ एक करोड ५० लाख र ब्याज करिब ८० लाख बुझाउन बाँकी छ ।

बैंकले पटकपटक ऋणी र जमानीकर्तालाई पत्राचार गर्दा पनि साँवा÷व्याज नबुझाएपछि कालोसूचीमा राख्ने तयारी भइरहँदा नेम्वाङ आफैँले बैंकमा सम्पर्क गरेका थिए । बैंकको टोली नेम्वाङको घरमै पुगेर कर्जा चुक्ता गर्न आग्रह गरेको थियो । जवाफमा नेम्वाङले आफूले उक्त कर्जा जग्गै बेचेर भए पनि तिरिदिने बचन दिएका थिए ।

बैंकको कर्जा शाखाका अनुसार गत आर्थिक वर्षमा करिब ३२ लाख रुपैयाँ ऋणीले जम्मा गरेका थिए । दुई महिना अघिमात्रै बैंकको टोली बाडेँगाउँमा सञ्चालन गरिएको कम्पनीमा पुगेको थियो ।

वाइन कम्पनीमा वाइनको उत्पादन भने थिएन । वाइन बनाउने कच्चा पदार्थ मात्रै थियो । ‘पटकपटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेपछि हामी कम्पनीमा गएका थियौं । तर, त्यहाँ वाइन उत्पादन थिएन, ‘कर्जा शाखाका एक कर्मचारीले रातोपाटीसँग भने, ‘त्यही कच्चा पदार्थ बिक्री गरेर भए पनि कर्जा चुक्ता गर्न सकिन्छ कि भनेर सोध्यौं । उहाँहरुले तिर्नेमात्रै भन्नुहुन्छ तर, तिर्ने छाँटकाँट देखिँदैन ।’

नेम्वाङ र उनकी बुहारी लिम्बु बैंकसँगको सम्पर्कमा रहे पनि कम्पनीको साझेदार भनिएका रुद्र प्रसाद गिरी भने अहिले सम्पर्कबिहीन छन् । स्रोतले भन्यो, ‘गिरी अहिले बैंक र नेम्वाङ परिवारसँग सम्पर्कबिहीन भएर बसेका छन् ।’

बैंकका प्रवक्ता अधिकारीले ऋणी बैंकसँगको सम्पर्कमा रहेको र कर्जा चुक्ता गर्छु भनिरहेकाले कालोसूचीमा नाम प्रकाशित नगरिएको बताए । उनले भने, ‘नेम्वाङको जग्गा धितो राखेर कर्जा लिएकाले उनको नाम जोडिएको हो । तर, उहाँ आफैँले पनि तिर्छु भनिरहेको अवस्थामा कालोसूचीमा नाम प्रकाशित गर्नुको अर्थ छैन ।’

यसअघि रातोपाटीसँगको सम्पर्कमा नेम्वाङले जग्गा बेचेर भए पनि कर्जा चुक्ता गर्न आफू लागिपरेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप