बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
ऋण नतिर्ने प्रपञ्च

एमाले उपाध्यक्ष नेम्वाङ जोडिएको ऋण उठाउन नेपाल बैंकलाई हैरानी !

बिहीबार, १४ वैशाख २०८०, १८ : ०१
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । एउटा नेपाली उखान छ–सानालाई ऐन, ठूलालाई चैन । यसको अर्थ हुन्छ–नियम कानुन निम्छरोलाई मात्रै लाग्ने तर, ठूलालाई नछुने । 

नेपाल बैंकले २०७३ सालमा दुई पटक गरी ललितपुरको बाँडेगाउँमा अवस्थित पाम फुड्स एण्ड बेभरेज टेक्नोलोजी प्रा.लिको नाममा एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्यो । उक्त कर्जा लिँदा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाममा रहेको इलामस्थित–६ रोपनी १५ आना जग्गा धितो सुरक्षणमा राखिएको थियो । 

नेम्वाङको नाममा रहेको इलाम नगरपालिका–२ स्थित कित्ता नम्बर २४६ को जग्गा धितो सुरक्षण राखिएको थियो । उक्त जग्गाको धितो मूल्याङ्कन तीन करोड २० लाख रुपैयाँ कायम गरिएको थियो । जग्गा नेम्वाङको नाममा भए पनि ऋणीहरू भने उनकी भाइ बुहारी देव कुमारी लिम्बु र कम्पनीका साझेदार रुद्रप्रसाद गिरी छन् । 

एमाले उपाध्यक्ष नेम्वाङका सहोदर भाइ सुरेश कुमार नेम्वाङकी पत्नी देव कुमारी लिम्बुले ‘क्यास  क्रेडिट ओभरड्राप्ट लोन’ र लोन चार्चेजको गरी दुई किसिममा कर्जा लिएकी थिइन् । २०७३ चैत २५ मा डेढ करोड रुपैयाँ कर्जा लिएर २०७५ जेठ २ गतेसम्म किस्ता बुझाएको नेपाल बैंकले जनाएको छ ।  तर, २०७५ जेठ ३ देखि हालसम्म पनि कर्जा बुझाएको देखिँदैन । 

नेपाल बैंकले पटक पटक ऋणी र जमानीकर्तालाई पत्राचार गर्दा पनि बक्यौता साँवा/व्याज नबुझाएपछि कालोसूचीमा राख्ने तयारी थियो । तर, पूर्व सभामुख नेम्वाङको दबाबका कारण बैंकले हालसम्म पनि कालोसूचीमा नाम प्रकाशित गर्न सकेको छैन । तर, बैंकले ऋणी, जमानीकर्ता र धितो सुरक्षणकर्तालाई पटक पटक फोन र पत्रमार्फत ऋण र ब्याज तिर्न ताकेता गरेको जनाएको छ। 

बैंकले ऋणीकर्तालाई २०७७ असोज ११ सम्म तीन पटक र जमानीकताईलाई पनि पटक ताकेता गरेको देखिन्छ। तर, ऋणी र जमानीकर्ताले तिर्ने छाँटकाँट देखिँदैन । 

नेपाल बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले कर्जा प्रवाहमा पूर्व सभामुख नेम्वाङसँग जोडिएपनि उनका एकाघरको परिवार संलग्न रहेको बताए । उनले भने, ‘बैंकले ऋणी, जमानीकर्ता र धितो सुरक्षणधनीसँग पटक पटक ताकेता गरेको छ । उहाँहरुले जसरी पनि सल्ट्याउँछौं भन्नुभएको छ।’ यससम्बन्धमा थप बुझ्ने र सम्बन्धित कर्जाका प्रमुखलाई ताकेता गर्न लगाइने उनको भनाइ छ ।  

यसैगरी एमाले उपाध्यक्ष नेम्वाङले जग्गा आफ्नो नामको भए पनि भाइ सुरेशका कारण आफू विवादमा आएको बताए । उनले रातोपाटीसँग भने, ‘भाइले वाइन कम्पनी खोल्छु भन्यो, मैले सक्दैनस् भन्दा पनि जग्गा धितो राखेर पैसा निकाल्यो । अहिले तिर्न सकेको छैन । मैले जग्गा बेचेर भए पनि कारोबार छिटो सल्ट्याउ भनेको छु ।’

 उनले यस घटनामा आफूलाई अनावश्यक रुपमा नमुछ्न आग्रह गरे । उनले भने, ‘यो सबै कारोबार मेरो भाइले गरेको हो । धितो सुरक्षणमा मेरो नाम आउनु स्वाभाविक थियो । मैले जसरी पनि मिलाऊ भनेको छु ।’ 

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप
मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप