बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तातोपानी नाका खुलेकै दिन ३७ लाखको सामान निर्यात

मङ्गलबार, १९ वैशाख २०८०, १३ : ५२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपाल–चीन व्यापारिक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । विगत आठ वर्ष भन्दा बढी समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमवारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो । 

भूकम्पको बहानामा चीनले तातोपानी नाका दुवैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो । भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा ठप्प थियो । सोमबारदेखि आयात निर्यात दुवैतर्फ सञ्चालनमा आए पनि मानव आवतजावत प्रतिबन्ध नै रहेको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले मानव आवतजावत तत्काल खोल्ने सम्भावना नभएको भन्दै खोल्ने विषयमा छलफल भइरहेको बताए । उनले सोमवार तातोपानी नाका दुईतर्फ सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको बताए । उनले सोमवार करिब ३७ लाख मूल्य बराबरको सामान निर्यात भएको बताए । उनले तातोपानी नाकादेखि काठमाडौँसम्म सडक मार्ग निर्माणका सरकारले प्राथमिकतामा राखेको बताए । 

त्यस्तै,नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुसी लागेको बताए ।  तातोपानी नाका अब पूर्ण रूपमा सञ्चालनमा आउने आशावादी भएको बताउँदै उनले सरकारले नेपाली सामान निर्यातको लागि कूटनीतिक पहल गर्न आवश्यक रहेको जिकिर गरे ।

त्यस्तै,व्यवसायी विजय शेर्पाले तीन ट्रक मुढा र म्याट्रेस चीनले तामझाम गरेर लगेको बताए । उनले भन्सार नाका दुईतर्फ सञ्चालनमा आएसँगै निर्यात बढ्ने आशा रहेको बताए । उनले यो भन्दा पहिला बिस्कुट,सलाई,मैदा,कस्मेटिक सामान जस्ता सामानहरूको माग भइरहेको जनकारी दिए । 

त्यस्तै,अर्का निर्यात व्यवसायी अनिरुद्ध थापाले लामो समयपछि तातोपानी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रूपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरेको बताए । उनले नाकाको दुवै तर्फका संरचना राम्रो बनको भन्दै दुवैतर्फका सावरी साधन सञ्चालनमा समेत सहजता रहेको बताए । 

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमवारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो ।  भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा समय समयमा अवरोध हुँदा करोडौँ लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र हुँदा साना र मझौला व्यापारीहरूलाई ठूलो समस्या पर्ने गरेका थियो । नाका दुवैतर्फ सञ्चालनमा आएसँगै नेपाल–चीन आयात र निर्यातमा सहजीकरण हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप