बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षपछि स्वास्थ्य मन्त्रालयमा फर्किए मोहन बस्नेत

बुधबार, २० वैशाख २०८०, १८ : ००
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत स्वास्थ्य मन्त्री बनेका छन् । सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतले तेस्रो पटक राजकीय पद प्राप्त गरेका छन् । २०५८ मा स्वास्थ्य राज्यमन्त्री बनेका उनी २०७४ मा सञ्चार मन्त्री बनेका थिए ।

स्वास्थ्य राज्यमन्त्री बनेको २२ वर्षपछि उनी फुल मन्त्रीका रूपमा स्वाथ्य मन्त्रालयमा फर्किएका छन् । बस्नेत सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। 

को हुन् मोहन बस्नेत ?

सिन्धुपाल्चोकमा २०१५ सालमा जन्मिएर १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसङ्घको राजनीतिमा सक्रिय रूपमा लागेका थिए । मार्सल आर्ट्सका खेलाडीसमेत रहेका बस्नेतले समाज सेवासँगै राजनीतिलाई अगाडि बढाएका थिए । ०४६ देखि पार्टी राजनीतिकमा सक्रिय बस्नेतले लामो २० वर्ष काँग्रेसको सिन्धुपाल्चोक जिल्ला नेतृत्व सम्हालेका थिए । पार्टीको १३ औँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा आएका उनी १४ औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि पार्टीको खेलकुद विभाग प्रमुखको जिम्मेवारी सम्हालेका बस्नेतले काँग्रेसको दैविक प्रकोप विपद् व्यवस्थापन समितिको संयोजक भएर पनि काम गरेका थिए ।  संसदीय राजनीतिक यात्रा पनि  युवा उमेरदेखि नै थालेका बस्नेत बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसद्को टिकट पाएका थिए । पहिलो निर्वाचनमा उनी एमाले उम्मेदवार अमृत बोहरासँग पराजित भए ।

त्यसपछिको मध्यावधि निर्वाचनमा भने बस्नेतले टिकट पाएनन् । तर ०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अमृत बोहरालाई हराउँदै पहिलो पटक सांसद भए । त्यति बेला बस्नेत स्वास्थ्य राज्यमन्त्रीसमेत भए । पहिलो संविधान सभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए । तर दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उम्मेदवार अरुण नेपाललाई  हराउँदै संविधान सभामा जान सफल भए । त्यसपछि उनी सूचना तथा सञ्चार मन्त्री भएका थिए । 

०७४ को निर्वाचनमा भने उनी तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटासँग पराजित भए । गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका छन् । निडर र हक्की स्वभावका बस्नेतको सर्वसाधारण माझ समाजसेवी नेताको पहिचान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप