मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

गर्भवतीले गिजाको हेरचाह नगर्दा बच्चाको स्वास्थ्यमा पनि पर्छ गम्भीर असर

गर्भवती हुनुभन्दा अघि गिजाको अनिवार्य जाँच गर्न चिकित्सकको सल्लाह
सोमबार, २५ वैशाख २०८०, १० : १०
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । सन्तान जन्माउने योजना बनाएका महिलाले विभिन्न थरिका स्वास्थ्य परीक्षण गराउँछन् । यस क्रममा गिजाको स्वास्थ्य परीक्षण भने कमैले गराउँछन् । दन्तरोग विशेषज्ञ डा रिता सिंह गर्भवतीले गिजा जाँच अनिवार्य रूपमा गर्न आवश्यक पर्ने बताउँछिन् । 

गिजामा हुने सङ्क्रमणलाई धेरै सामान्य रूपमा लिइन्छ । गर्भावस्थामा गिजामा सङ्क्रमण भई गाह्रो हुँदा एन्टिवायोटिक औषधि खुवाउन नमिल्ने डा.सिंहको भनाई छ । उनले भनिन्, ‘गर्भावस्थामा गिजामा समस्या भई लामो समयसम्म धेरै दुःख सहनुपर्ने बाध्यतालाई अन्त्य गर्न पहिल्यै परीक्षण गर्नुपर्छ ।’

परिवार योजना बनाउनुभन्दा अघि गरिने जाँचमा स्त्रीरोग विशेषज्ञले मुखको गिजा परीक्षणलाई अनिवार्य गराउनुपर्ने उनको जिकिर छ । जस्तै, परिवार योजना बनाएपछि सुरुमा फोलिक एसिड सेवन गराइन्छ । यही क्रममा स्त्रीरोग विशेषज्ञहरूले दन्त तथा गिजा अनिवार्य जाँच गर्न सुझाव दिएको खण्डमा गर्भावस्थामा धेरै सास्ती खेप्न पर्दैन । 

डा. सिंहका अनुसार बच्चा जन्माई सकेपछि ब्रस गर्न हुँदैन भन्ने चलन छ । वास्तवमा सुत्केरी अवस्थामा विभिन्न हर्मोनहरू बढ्दै जाने भएकाले गिजा धेरै कलिलो हुन्छ । तर सुत्केरी अवस्थामा गिजाबाट रगत आउनुलाई सामान्य रूपमा नलिई गम्भीर ढङ्गले लिनुपर्छ । 

डा.सिंहले समाजमा अझैँ पनि समुदायमा गिजामा हुने स्वास्थ्य समस्याबारे जनचेतना कम रहेको बताइन् । 

पुरुषको तुलनामा महिलाको मुखको स्वास्थ्यमा धेरै समस्या देखिने उनको भनाइ छ । महिलाको शारीरिक बनावटका कारण पनि मुखसम्बन्धी समस्या बढी देखिने उनले बताइन् । 

मेनोपज हुँदा पनि गिजामा समस्या

डा. सिंहका अनुसार रजनोवृत्ति अर्थात् मेनोपज हुँदा विभिन्न किसिमका समस्यामध्ये दाँत तथा गिजासम्बन्धी समस्या पनि एक हो । मेनोपज हुँदा समुदायमा खुलेर कुरा गर्ने प्रवृत्ति नहुँदा समस्या भएको उनले बताइन् । 

महिलाहरू जब ४५ देखि ५० वर्षमा टेक्छन्, तब उनीहरूको शरीरमा विभिन्न हर्मोन परिवर्तन हुने क्रममा मुख स्वास्थ्यमा पनि परिवर्तन आउने गर्छ । मेनोपजकोे समयमा मुख सुख्खा हुने, खस्रो हुने, गिजा पोल्ने, चहराउने लगायतका समस्याले सताउँछ । 

उनले भनिन्, ‘थुक सुक्ने पनि हुन्छ । जबकि थुकमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्त्व हुन्छ । थुक कम हुने बित्तिकै दाँत कीराले खाने, गिजा पोल्ने, गिजासम्बन्धी विभिन्न खालका रोग लाग्न सक्छ ।’ 

गर्भावस्थामा दाँत हेरचाह नगर्दा के हुन्छ ?

समय नपुगी कम तौलको बच्चा जन्मिनुमा मुख स्वास्थ्य पनि भूमिका रहने डा. सिंहले बताइन् । गर्भावस्थामा मुखमा धेरै ब्याक्टेरिया हुन्छन् ।  साथै, बच्चाको प्रतिरोधात्मक क्षमताको विकास नभएको हुनाले बच्चालाई म्वाइँ खाने, जुठो ख्वाउने पनि गर्न नहुने उनको भनाई छ । 

बच्चाको मुखमा सानैमा ब्याक्टेरिया सङ्क्रमण भएमा अप्रत्यक्ष रूपमा दीर्घकालसम्म असर पर्ने डा.सिंहको जिकिर छ ।

उनले भनिन्, ‘ब्याक्टेरिया सङ्क्रमण भई मुख गनाउने गर्छ, उनीहरूमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ । गिजामा रगत आउँदा खानासँगै पेटमा जान्छ । पछि अल्जाइमर, स्ट्रोक, निमोनिया लगायतका रोग हुनुमा गिजासँग सम्बन्धित हुन्छ ।’ 

यदि गर्भावस्थामा महिलाले दाँतको हेरचाह राम्रोसँग गरिनन् भने पेटमा रहेको बच्चाको स्वास्थ्यमा पनि असर गर्ने उनले बताइन् ।

बच्चालाई निप्पलबाट दूध नखुवाऔँ

पछिल्लो समय आमाहरू कामकाजी हुँदा तथा अप्रेशनमार्फत् बच्चा जन्माउँदा धेरैजसोले बट्टाको दूध खुवाउने गरेका छन् । यसो नगर्न सल्लाह दिँदै उनले भनिन्, ‘बट्टाको दूधमा चिनीको मात्रा बढी हुन्छ । चिनी मुखमा गएपछि गिजा तथा दाँतलाई बिगार्ने काम गर्छ ।’ बच्चा एक वर्ष पुगेपछि मात्र उसलाई कपबाट दूध खुवाउन सकिने उनको भनाई छ ।

लगातार ८ वर्षसम्म ब्रस गराउनुपर्ने 

चार पाँच वर्षको भएपछि बच्चाहरू आफै ब्रस गर्न मन पराउँछन् । ब्रस गरे पनि राम्रोसँग मिलाएर नगर्न सक्छन् । ‘यस उमेर समूहका बच्चाले ब्रस गरे भनेर ढुक्क हुनु हुँदैन । बच्चाहरूलाई ८ वर्षसम्म लगातार अभिभावकले नै ब्रस गराई दिनुपर्छ ।’ उनले भनिन्, ‘जबसम्म बच्चाले आफ्नो जुत्ता, लुगा आफै धुन, लगाउन सक्दैन, तबसम्म उसले आफै दाँत माझ्न सक्दैन भन्ने बुझ्नु पर्छ ।’

बच्चाको दाँत कीराले खाँदा अभिभावकहरू सहजै दाँत निकाल्न तयार हुने तर उनीहरूको दाँत जोगाउन खासै ध्यान नदिने गरेकोमा उनी आश्चर्य मान्छिन् । भन्छिन्,‘बच्चाको दाँत निकाल्दा हुने पीडा अभिभावकले देख्न सक्दैनन् । त्यसैले,े सकेसम्म बच्चाको दाँत जोगाउन जरुरी छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप