बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री युरोप भ्रमणमा जाने

सोमबार, २५ वैशाख २०८०, २२ : ३८
सोमबार, २५ वैशाख २०८०

बेइजिङ । चीनले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन गाङले यसै साता युरोपको भ्रमण गर्ने बेइजिङले सोमबार जनाएको छ । किनले सोमबारदेखि शुक्रबारसम्म जर्मनी, फ्रान्स र नर्वेका समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जानकारी दिए 
“जर्मन विदेशमन्त्री एनालेना बेयरबोक, फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोना र नर्वेका विदेशमन्त्री एन्निकेन हुइटफेल्टको निमन्त्रणामा चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री किन गाङले मे ८ देखि १२ सम्म जर्मनी, फ्रान्स र नर्वेको भ्रमण गर्नुहुनेछ,” वाङले भने ।

फ्रान्सका लागि आफ्ना राजदूतले युक्रेन युद्धमा आफूलाई तटस्थ राख्ने बेइजिङको प्रयासमाथि प्रश्न उठाएपछि चीनले सबै पूर्व सोभियत मुलुकको सार्वभौमिकताको सम्मान गर्ने बताएको दुई हप्तापछि यो भ्रमण हुन लागेको हो ।

राजदूत लु शायेले सोभियत सङ्घको पतनपछि उदाएका देशहरूको सार्वभौम राष्ट्रको रूपमा उनीहरूको हैसियत पुष्टि गर्ने अन्तर्राष्ट्रिय सम्झौता नभएकोले ‘अन्तर्राष्ट्रिय कानूनअन्तर्गत प्रभावकारी हैसियत प्राप्त गर्न नसकेको’ बताए ।

फ्रान्सेली प्रसारक एलसीआईलाई दिएको उनको टिप्पणीले फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेको युक्रेनलाई मात्र होइन, तर सन् १९९१ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्र राष्ट्रका रूपमा उदाएका सबै पूर्व सोभियत गणतन्त्रहरूलाई सङ्केत गरेको देखिन्छ ।

ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले बेइजिङको स्पष्टीकरणले यस विषयलाई ‘विधिवत् रूपमा स्पष्ट’ पारेको र चीनले पूर्व सोभियत राष्ट्रहरूको सार्वभौमिकतामाथि प्रश्न नउठाएको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेका थिए । करिब एक घण्टा चलेको उक्त छलफलमा सीले शान्ति वार्ताको वकालत गरेको बताइएको छ, तर युद्ध अन्त्य गर्ने चिनियाँ पहललाई युक्रेनले वेवास्था गरिरहेको रूसले आरोप लगाएको छ । 

गत फेब्रुअरीमा चीनले प्रकाशित गरेको १२ बुँदे ‘पोजिसन पेपर’लाई धेरै पश्चिमा सरकारहरूले रूसप्रति झुकावका रूपमा हेरेका थिए र मार्चमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न सीले गरेको मैत्रीपूर्ण मस्को भ्रमणको व्यापक आलोचना भएको थियो ।

बेइजिङले युक्रेन द्वन्द्वमा आफू तटस्थ रहेको बताएको छ । सीले रूसी आक्रमणको कहिल्यै निन्दा गरेका छैनन् तर चिनियाँ नेतालाई पश्चिमा देशहरूबाट हस्तक्षेप गर्न थप दबाब परेको छ । गत महिना बेइजिङको भ्रमणमा रहेका बेयरबोकले चीनलाई युक्रेनमा युद्ध रोक्न रूसी पक्षलाई सुझाब दिन आग्रह गरेका थिए ।

उनले मानव अधिकारका विषयमा आफूले चिन्ता व्यक्त गरेको र ताइवानसँग तनाव बढ्न सक्ने खतराबारे पनि सचेत गराएका थिए । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयेनले युक्रेनको सङ्कट समाधानका लागि बेइजिङलाई विशेष भूमिका निर्वाह गर्न आग्रह गरेको एक सातापछि उनको भ्रमण हुन लागेको हो ।  म्याक्रोँसँगै गएको प्रतिनिधिमण्डलमा कोलोनाको पनि सहभागीता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप