शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना तिर्नुपर्ने

बुधबार, २७ वैशाख २०८०, ०७ : १७
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो ।  

पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई. जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको र आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाएकी थिइन् ।

ट्रम्पले आफूलाई झुटो प्रमाणित गर्न खोजेको र त्यसबाट आफ्नो निकै बदनामी भएको आरोप पनि उनले लगाएकी थिइन् । न्यायालयले उक्त घटनामा ट्रम्पलाई दोषी ठहर गर्दै उनले क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको छ ।

यद्यपि, अदालतले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रूपमा क्यारोललाई बलात्कार गरेको घटनामा भने ट्रम्प दोषी नदेखिएको फैसला सुनाएको छ । किनभने यो मुद्दा फौजदारी (क्रिमिनल) कोर्टमा नभई सिभिल कोर्टमा चलेको थियो ।

यो मुद्दा मेनहटनको सङ्घीय अदालतमा करिब दुई सातासम्म चलेको थियो । मुद्दाको सुनुवाइमा भने ट्रम्प उपस्थित थिएनन् । उनले सुरुदेखि नै आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका थिए । ६ जना पुरुष र ३ जना महिलासहितको जुरीले मंगलबार करिब तीन घन्टासम्म छलफल गरेर ट्रम्पको विपक्षमा फैसला सुनाएको हो ।

न्यायालयले आफुविरुद्ध फैसला सुनाएपछि ट्रम्पले अदालतको फैसलाबाट आफ्नो अपमान भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै क्यारोलको विषयमा पनि आफूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।

‘यी महिला को हुन् भन्ने विषयमा समेत मलाई कुनै जानकारी छैन । यस्तो अवस्थामा अदालतको फैसलाबाट मेरो अपमान भएको छ,’ ७६ वर्षीयले भनेका छन् । ट्रम्पका एक प्रवक्ताले भने अदालतको उक्त निर्णयको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन् ।

अदालतको फैसलापछि क्यारोलले सत्यको जित भएको प्रतिक्रिया दिएकी छन् । ‘आज सारा विश्वले सत्य के हो भन्ने कुरा थाहा पाएको छ,’ ७९ वर्षीया क्यारोलले आफ्नो लिखित वक्तव्यमा भनेकी छन्, ‘यो मेरोमात्र जित होइन । यो ति सबै महिलाको जित हो, जो पीडित भएका छन् र जसको आवाज कसैले सुनिरहेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप