बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

टिचरको टर्चर असह्य भएपछि आत्महत्या

बिहीबार, २८ वैशाख २०८०, १८ : ४७
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । चितवन मेडिकल कलेज बीडीएस चौथौँ वर्ष फर्स्ट फेजको आन्तरिक परीक्षा चलिरहेको थियो । बुधबार बिहान आन्तरिक परीक्षामा सहभागी थिइन्– सिम्रन थापा ।

परीक्षा दिइरहेको बेला परीक्षा हलबाट सो परीक्षामा सम्मिलित शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालिदिए ।  त्यसपछि उनी कलेज नजिकै रहेको आफ्नो कोठामा गइन् । चिट चोरेको आरोपमा शिक्षकले उनलाई परीक्षा हलबाट निकालिदिएको थियो । त्यसपछि आफ्नो कोठामा गएकी थापा झुण्डिएको अवस्थामा फेला परिन् । जहाँ उनीसँगै तीन जना साथीहरू एउटै फ्ल्याटमा बस्दै आएका थिए ।

पाल्पा रामपुर नगरपालिका–४ स्थायी घर भएकी २३ वर्षीया थापाले पासो लगाएर आत्महत्या गरेकी थिइन् ।आत्महत्या गर्नुको पछाडि शिक्षकले दिने मानसिक तथा शारीरिक यातना देखिएको छ ।

बीडीएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थीले रातोपाटीसँग भने, ‘रातदिन पढ्न लगाउने । अनावश्यक रूपमा होमवर्क दिने । शिक्षकहरूले यतिधेरै टर्चर दिन थाले कि पागल हुने अवस्थामा पुगेँ ।’

पढाइको प्रेसरले गर्दा विद्यार्थीहरू मेन्टल्ली स्ट्रेसमा जाने अवस्थामा रहेको ती विद्यार्थीको भनाई छ । उनले परीक्षा हलबाट निकालिदिएको कारणले मात्र आत्महत्या नगरेको उनको भनाई छ ।

‘पहिलादेखि नै एक खालको स्ट्रेस थियो । त्यसपछि परीक्षा हलमा चिट भेट्टाएर निकालिदिएपछि झन तनावमा आइन्,’ ती विद्यार्थीले भने । विद्यार्थीहरूलाई एकातिर पढाइको प्रेसर हुन्छ । त्यसमाथि शिक्षकहरूले दिने अनावश्यक टर्चर विद्यार्थीहरूका लागि असह्य हुने गरेको छ ।

‘कहिले हातमाथि गरिराख भन्ने । कहिले ५० पटक लेखेर ल्याऊ भन्ने । कहिले २० पटक लेखेर ल्या भन्ने । रातभर पढ्नुपर्छ भनेर होमवर्क दिने । अनि तैँले पढ्न सक्दैनस् भनेर हेप्ने, अरू विषय पढ जाऊँ भनेर होच्याउने जस्ता कुरा त सामान्य जस्तै लाग्छ,’ ती विद्यार्थीले भने ।

थापालाई मात्र नभएर अन्य विद्यार्थीलाई समेत शिक्षकहरूले अनावश्यक तनाव दिने गरेका छन् । जसले गर्दा धेरै विद्यार्थीहरू मानसिक रोगको सिकार बन्ने गरेका छन् ।

‘एकातिर लाखौं खर्च गरेर मेडिकल शिक्षा पढ्नुपर्ने हुन्छ । पास गर्न सकिएन भने लाखौं रुपैयाँ डुब्ने डर हुन्छ । त्यसमाथि शिक्षकहरूले अनावश्यक प्रेसर दिनुका साथै अपमानजनक व्यवहार समेत गर्छन् । समस्यामा परेका विद्यार्थीलाई सहजीकरण गरिदिनुको साटो थप हेप्ने काम शिक्षकबाट भयो भने के हुन्छ ?’ ती विद्यार्थीले प्रश्न गरे ।

उक्त घटनापछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको छ । डा. अभिषेक गुप्ता र डा. हरेन्द्र सिंहलाई निलम्बन गरेको हो । मृतकका आफन्तले उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा समेत हालेका छन् ।

विद्यार्थीहरूले भने थापाको आत्महत्यापछि चितवन मेडिकल कलेजका दुई डाक्टरहरूलाई निलम्बन गर्नु समाधानको बाटो नभएको बताएका छन् । डाक्टरलाई निलम्बन गर्ने र परिवारलाई क्षतिपूर्ति दिने कुराले समस्याको समाधान नहुने भन्दै कलेजमा हुने अनावश्यक तनाव कम गर्नुपर्नेमा उनीहरूको जोड छ । विद्यार्थीहरूलाई प्रेक्टिकल इक्जाम, कटअफ मार्क लगायतका विभिन्न बहानामा डराउने, धम्क्याउने जस्ता कारणले विद्यार्थीहरू समस्यामा पर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप