मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

बिहीबार, २८ वैशाख २०८०, २० : १३
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रुप दिनका लागि विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।

राखेपका तर्फबाट सदस्यसचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले रग्बी, भलिबल र बक्सिङ खेलको पूर्वाधार निर्माणका लागि उक्त खेलका राष्ट्रिय संघहरुसँग जग्गा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कार्की, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नगरपालिकाले रग्बीका लागि वडा नम्बर ७ स्थित सोमतीर्थमा १ सय ८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा नम्बर ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्नेछ । बक्सिङका लागि वडा नम्बर ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमति भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका सदस्यसचिव घिसिङले पूर्वाधार निर्माणका लागि सम्बन्धित संघले आफ्नो अन्तर्राष्ट्रिय महासंघसँग पनि समन्वय गरी श्रोत जुटाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माण गर्दा बिजुली, पानी, सडक आदिमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

मेयर कार्कीले नगरपालिकाको प्रस्तावलाई सहर्ष स्वीकार गरेकोमा सदस्यसचिवलाई धन्यवाद दिँदै कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने योजना अनुरुप नगरपालिकामा भएका जग्गालाई खेलकुदका लागि अधिकतम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप