बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्छ : गौतम

शनिबार, ३० वैशाख २०८०, १५ : ४८
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनै पर्ने पनि बताएका हुन् । 

डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तकको  विमोचन कार्यक्रममा भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने स्पष्ट पारे । उनले भने,

‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरूको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो । र, नक्सा जारी गरेर संसारको अगाडि देखाउनु पर्छ भनेर निर्णय गरेर त्यो नक्सा जारी गरियो । सरकारको नीति तथा कार्यक्रममा समावेश गरियो । र, संसद्ले सर्वसम्मतिले पारित गर्‍यो । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले त्यसलाई पारित गरेको छ । र, त्यो आज नेपालको भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन । अव मान्न पर्छ कि नेपालले भारतको मिचाहा प्रवृत्ति अतिक्रमणका गरिएको भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू तुरुन्त फिर्ता भएर भारतमा जानुपर्छ । त्यो हाम्रो भूमिका बस्न पाइन्न भन्ने विषय हाम्रो आजको विषय हो । त्यसो भएर हामीले त्यसो गर्ने कि नगर्ने, त्यो चिजमा जाने कि नजाने ?’ 

‘उहिले इशापूर्व पाँचौँ शताब्दीमा गौतम बुद्धलाई घर छोडेर हिँडने बनाउने एउटा घटना हो । त्यहाँ रोहीनी नदी छ । त्यो रोहीनी नदीभन्दा पूर्व र पश्चिमतिर शाक्य राज्य बीच झगडा भयो । र, यति सानो विषयमा हामीले युद्धमा जानु हुन्छ भनेर भन्दाखेरी पूर्वीयतर्फको सदनले पास गर्‍यो–यो शाक्य पक्षले हाम्रो सबै पानी लिएर गयो भन्ने विषय होइन । विषय सार्वभौमिकताको विषय हो,’ उनले भने, ’आज पानी लैजान्छ, भोलि हाम्रो देशै लुट्न आउँछ । त्यसो भएर या त युद्ध गर्नु पर्छ, या त जसले त्यो पानी लगेको छ । त्यसको मृत्यु हुनुपर्छ भनेर भन्ने विषय उसले राख्यो । र, त्यो विषयलाई साम्य पार्नका निम्ति, दुई वटा समूहबीच युद्ध नहोस् भन्नका निम्ति गृहत्याग गर्न पर्‍यो गौतम बुद्धलाई । र, त्यसपछि बुद्ध भए । यो सार्वभौमिकताको सवाल हो । हामीले त्यहाँबाट भारतीय फौज र कर्मचारी जति छन्, ती सबै तुरुन्त निस्कन पर्छ भनेर भन्ने विषय नेपाली जनताको बीचमा लैजानु पर्छ । र, हाम्रो सार्वभौमिकताको रक्षा गर्नु पर्छ । हामीले त्यसो गर्न सक्छौ कि सक्दैनौं भन्ने सन्दर्भमा यो किताबले देशभित्र त यो सबै गर । अन्तर्राष्ट्रिय क्षेत्रमा जाने हो भने पनि धेरै यस्ता कानुनहरू छन्, जसले हामीलाई सर्पोट गर्छ ।’ हामीलाई अगाडि बढन सर्पोट गर्छ भन्ने विषय यहाँ छ । हामी सुगौली सन्धितर्फ जान सक्छौं कि सक्दैनौं भन्दा त्यता जान हुन्न । तर हाम्रा इतिहास अध्ययन गराउँदाखेरी सम्पूर्ण इतिहास अध्ययन गराउनु पर्दछ । ’

सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप