बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मदर्स डे : गर्भावस्थामा एउटी आमाले के– के सहन्छिन् ?

आइतबार, ३१ वैशाख २०८०, १४ : ०७
आइतबार, ३१ वैशाख २०८०

‘म तेरी आमा हुँ’ । हामी सबैले आफ्नी आमाबाट यस्तो डाइलग पाएका छौँ । यो सुन्दा हामीलाई पक्कै पनि राम्रो लाग्दैन तर आमा बन्नका लागि एउटी आमाले के–के सहनुपर्छ भन्ने कुरा कि पढेर थाहा हुन्छ कि परेर । आज मदर्स डेको उपलक्ष्यमा आमा हुनका लागि एउटी महिलाले के–कस्ता कुरा सहनु पर्छ भन्नेबारे जानकारी लिऔँ ।

– हरेक मिनेट १६ को साटो २३ पटक सास फेर्छिन् गर्भवती आमा

गर्भावस्थामा आमा एक नयाँ जीवनका लागि सास फेर्छिन् । एक साधारण व्यक्ति हरेक मिनेट ८ देखि १६ पटक सास फेर्छन् भने गर्भवतीले हरेक मिनेट ९ देखि २३ पटक सास फेर्छिन् । 

तीन महिनापछि बच्चाको आकार हरेक हप्ता दोब्बर हुन्छ । बढ्दै गरेको बच्चालाई स्थान दिनका लागि आमाको फोक्सोसमेत सबै अङ्गमा दबाब पर्छ ।

फोक्सो दबिएपछि आमाले चाहिएको जति अक्सिजन पाउँदिनन् । उनको सास बढ्न थाल्छ । उनलाई थकाई लागिरहन्छ । यस्तोमा यदि आमालाई पहिलेदेखि नै श्वास सम्बन्धी कुनै समस्या छ भने गर्भावस्थाका बेला हृदयाघातको जोखिम बढ्ने गर्छ ।

– हरेक मिनेट ७२ को साटो १२० पटक धड्किन्छ मुटु

गर्भमा बच्चाले आमाको रगतबाट पोषण पाउँछ । त्यसैले आमाको शरीरमा ५० प्रतिशत रगत बढ्ने गर्छ । अर्थात् अब उनको शरीरमा ५ लिटरको साटो ७.५ लिटर रगत बगिरहेको हुन्छ ।

एक सामान्य मानिसको मुटु हरेक मिनेट ६० देखि १०० पटक धड्किन्छ । यस्तै गर्भवतीको मुटु ८० देखि १२० पटक धड्किन्छ । रक्तचाप १४०÷९० सम्म पुग्छ ।

बढी रगत पम्प गर्नका लागि मुटुले पनि धेरै काम गर्नुपर्छ । यसले गर्भवती आमाको रक्तचाप पनि बढ्छ  र मुटुको धड्कन पनि ।

उच्च रक्तचापले गर्भवती महिलाको मुटु र मिर्गौलामा दबाब पार्छ ।

– आन्द्रा दबिँदा खाना राम्रोसँग पच्न पाउँदैन

गर्भावस्थाको तीन महिनापछि बच्चा तीव्र रूपमा बढ्छ र बच्चाले अन्य अङ्गलाई पनि धकेल्न थाल्छ । गर्भवती आमाको शरीरमा फोक्सोदेखि ठुलो आन्द्रा, सानो आन्द्रा, कलेजो र मूत्र थैलीजस्ता अङ्ग आफ्नो स्थानबाट खस्किने गर्छन् ।

यसैका कारण आमाको पेटमा खाना पचाउने नली ब्लक हुने गर्छ । आमालाई कब्जियत र पेट पोल्ने समस्या हुन थाल्छ । आमाले राम्रोसँग खाना पचाउन नसक्ने भएकोले उनलाई बान्ता हुने वा धेरैजसो बान्ता आउला जस्तो महसुस भइरहने पनि हुन्छ ।

– पिसाब रोक्न समस्या

बच्चाको आकार बढ्दा पिसाब थैली दबिने गर्छ । यस्तो गर्भावस्थाको आठौँ हप्तादेखि हुन सुरु हुन्छ । यसका कारण आमालाई बारम्बार पिसाब फेर्न मन लाग्छ । त्यसपछिको समयमा पिसाब रोक्न सकिँदैन ।

– आमाको स्तन दुख्न थाल्छ

आमाको शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मोनले बच्चाका लागि दूध तयार गर्न थाल्छ । यसले स्तन दुखिरहन्छ । गर्भावस्थाको सुरुवाती महिनादेखि आमाको स्तन भरिएको जस्तो महसुस हुन्छ ।

– बच्चा जन्मिने बेला जति पीडा हुन्छ, त्यो बयान गर्न सकिँदैन

आमासँग सधैँ भरी करिब तीन किलो तौल भइरहन्छ । पेटमा बच्चाको तौल बढ्दा मेरुदण्डको हड्डी र खुट्टा दुख्ने र सुन्निने हुन्छ । 

पेट र स्तनको छाला भित्रदेखि बाहिरसम्मै तानिन्छ र यसको निशान पनि देखिन्छन् जुन सधैँ भरी आमासँगै रहिरहन्छ ।

अन्तिम दिनमा गर्भाशय अत्यधिक तन्किन्छ । आमा बनेका महिलाले यो पीडालाई १ देखि १० नम्बरमा मापन गरेको खण्डमा पूरा १० अङ्क बराबर बताएका छन् ।

पहिलो सन्तान जन्माउँदा कसैलाई १४ घण्टाभन्दा बढी समयसम्म सुत्केरी व्यथा लाग्न सक्छ । त्यसमाथि पनि साधारण तरिकाले बच्चा जन्माउन सकिएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खतरा

विश्व भरी हरेक दिन ८०० गर्भवती महिलाको मृत्यु हुन्छ

सन् २०२० मा विश्व भरी २,८७,००० गर्भवती महिलाको मृत्यु भएको छ । यीमध्ये धेरैजसो मृत्यु यस्तो थियो जसलाई रोक्न सकिन्थ्यो । ९५ प्रतिशत गर्भवती महिलाको मृत्यु गरिब देशमा भयो । 

बच्चाको जन्म आमाको पनि दोस्रो जन्म

गर्भावस्थामा एउटी आमाको शरीरमा जति परिवर्तन आउँछ, त्यो सामान्य हुन करिब ६ हप्ताको समय लाग्छ । बच्चा गर्भमा हुँदा शरीरमा जति पनि हर्मोन रिलिज भइरहेका हुन्थे ती पुनः आफ्नो सामान्य स्थितिमा जान्छन् । शरीरका साथै आमाको मानसिक स्वास्थ्यमा पनि असर पर्छ । बच्चा जन्मिएपछि आमालाई धेरैजसो पोस्टपार्टम डिप्रेसनबाट पनि गुज्रिनु पर्छ । नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थका अनुसार बच्चा जन्मिएपछि एस्ट्रोजन र प्रोजेस्ट्रोनजस्ता हर्मोनको स्तर तीव्र गतिमा खस्कने गर्छ । यसमा आमाको ब्रेनको केमिकल परिवर्तन हुन्छ र यसले मुड स्विङ हुने गर्छ ।

यो इमोसन ट्रिगर नै कहिले दुःख, कहिले एङ्जाइटी र कहिलेकाहीँ शरीर सुस्त गरिदिने थकानको रूपमा आउँछ । यस्तोमा बच्चा जन्माएपछि आमाले मानसिक र शारीरिक दुवै मोर्चामा एउटा लामो यात्रा तय गर्नुपर्छ र यो यात्रामा उनलाई परिवारदेखि समाजसम्मको आवश्यकता पर्ने गर्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप