शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले जेठ ४ गते संसदमा प्रश्नोत्तर गर्ने तयारी

आइतबार, ३१ वैशाख २०८०, २३ : ०१
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो । 

बैठकपछि नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले  जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदै छ । त्यो हुँदा सांसदभित्र रहेका दलहरूको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ ।’

यसैगरी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि भएको छ ।

लेखकले भने, ‘अब चाँडै समितिको बैठक बसाउने कार्यव्यवस्था परामर्श समितिमा त्यो निर्णय भएको छ । सकेसम्म भोलि नै समितिका बैठक प्रारम्भ गर्ने र जुन–जुन समितिमा विधेयक बसेका छन् कमसेकम ती समितिका बैठक बसिहालौँ । विधेयकमाथिको छलफल सुरु गरिहालौँ । सँगसँगै समितिको नेतृत्वको चयनको कुरा अगाडी बढाउ भन्ने कुरा भएको छ ।’

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरूले प्रश्न सोध्न पाउने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप