प्रधानमन्त्रीले जेठ ४ गते संसदमा प्रश्नोत्तर गर्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
बैठकपछि नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदै छ । त्यो हुँदा सांसदभित्र रहेका दलहरूको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ ।’
यसैगरी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि भएको छ ।
लेखकले भने, ‘अब चाँडै समितिको बैठक बसाउने कार्यव्यवस्था परामर्श समितिमा त्यो निर्णय भएको छ । सकेसम्म भोलि नै समितिका बैठक प्रारम्भ गर्ने र जुन–जुन समितिमा विधेयक बसेका छन् कमसेकम ती समितिका बैठक बसिहालौँ । विधेयकमाथिको छलफल सुरु गरिहालौँ । सँगसँगै समितिको नेतृत्वको चयनको कुरा अगाडी बढाउ भन्ने कुरा भएको छ ।’
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरूले प्रश्न सोध्न पाउने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण