बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा

मेडिकल कलेजहरूमा जहानियाँ शासन, विरोध गर्‍यो कि फेल गराइदिने धम्की

शिक्षकको टर्चर र पढाइको बोझले मानसिक रोगको औषधि खान्छन् विद्यार्थी
सोमबार, ०१ जेठ २०८०, ०९ : ३०
सोमबार, ०१ जेठ २०८०

काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी) मा बीडीएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले २७ वैशाखमा आत्महत्या गरिन् । चौथो वर्षको फस्ट फेजको आन्तरिक परीक्षा दिइरहेका बेला शिक्षकले उनको साथबाट चिट फेला पारे ।

त्यसपछि शिक्षकले गाली गरेर उनलाई परीक्षा हलबाट बाहिर निकाले र, त्यो दिनको परीक्षा रद्द गरिदिए । परीक्षा हलबाट निकालिदिएपछि उनी आफ्नो कोठामा गएर झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्यापछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको छ । उनले आत्महत्या गर्नु पछाडिको कारण परीक्षा हलबाट निकालिनु मात्र थिएन । उनीसँगै पढ्ने एक साथीका अनुसार उनको आत्महत्या गर्नुको कारण शिक्षकको ‘टर्चर’ हो ।

‘रातदिन पढ्न लगाउने । अनावश्यक रूपमा होमवर्क दिने । कहिले हात माथि गरिराख भन्ने । कहिले ५० पटक लेखेर ल्याऊ भन्ने । रातभर पढ्नुपर्छ भनेर होमवर्क दिने । अनि तैँले पढ्न सक्दैनस् भनेर हेप्ने, अरू विषय पढ्न जाउँ भनेर होच्याउने जस्ता कुरा त सामान्य जस्तै लाग्छ,’ ती विद्यार्थीले भने ।

एकातिर लाखौं रूपैयाँ खर्च गरेर मेडिकल शिक्षा पढिरहेको अवस्थामा अर्कोतिर शिक्षकले दिने मानसिक र शारीरिक तनाव निकै बढी भयो । जसले गर्दा उनी यो अवस्थामा पुगेको हुन सक्ने ती विद्यार्थीको भनाइ छ ।

चितवन मेडिकल कलेजमा पढ्ने अन्य विद्यार्थीले पनि यस्तो खालको समस्या भोग्दै आएका ती विद्यार्थीको भनाइ छ । शिक्षकले दिने मानसिक तनाव, पढाइको प्रेसर, सिनियर विद्यार्थीको ‘र्‍यागिङ’ सामान्य जस्तै हुन थालेको उनले बताए ।

उता कान्तिपुर डेन्टल कलेजमा बीडीएस पढिरहेकी एक विद्यार्थीले आफ्नो क्याम्पसमा हुने मानसिक तथा शारीरिक यातनाबारे बताइन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भनिन्, ‘सिनियरहरूबाट हुने र्‍यागिङ त सामान्य हो । त्यसका अलावा शिक्षकले अनावश्यक दुःख दिनु हुन्छ । उहाँहरूको केही कुरामा विरोध गर्‍यो भने सिधै फेल गराइदिने भन्नुहुन्छ । परीक्षा नै दिन पाउँदैनस् भन्दै रोक्छन् ।’

कतिपय विद्यार्थीहरू तनाबकै कारण मानसिक रोगको सिकार भएर औषधि समेत खाइरहेको उनको भनाइ छ । ‘शिक्षकहरूले अनावश्यक टर्चर दिन्छन् । जे पायो त्यही बोल्दै हिँड्ने । परीक्षा दिइरहेको बेला टर्चर दिइराख्ने काम त सामान्य जस्तै लाग्छ,’ उनले भनिन् ।

वीरगन्जमा रहेको एनएमसीका विद्यार्थीहरूले करिब डेढ वर्ष अघि शुल्क वृद्धिको विरोधमा काठमाडौंमा आएर प्रदर्शन गरे । कलेजले १५ देखि २० लाख रूपैयाँ थप शुल्क लिने गरेको भन्दै त्यसको विरोधमा उनीहरूले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा धर्ना दिएका थिए । एक महिना लामो आन्दोलन गरेर कलेज फर्किएका ७० प्रतिशतभन्दा बढी विद्यार्थी फेल भए ।

कलेजले प्रयोगात्मक परीक्षामा उनीहरूलाई फेल गराइएको थियो । आन्दोलन गर्न गएको भन्दै त्यसको रिस पोख्न क्याम्पसले आफूहरूलाई फेल गराइदिएको विद्यार्थीहरूको आरोप छ ।

‘शुल्क बढाएको विरोध गर्न आईओएममा धर्ना दिएका थियौं । गएर परीक्षा दिँदा अधिकांश विद्यार्थीलाई फेल गराइदियो,’ त्यो बेला आन्दोलन गर्न काठमाडौं आएका एक विद्यार्थीले भने ।

दुई पटकसम्म फेल भयो भने ‘ब्याच रिपिट’ गर्न मिल्छ । तर, चार पटकभन्दा बढी फेल भयो ‘ब्लक’ हुन्छ र, त्यो विद्यार्थीले मेडिकल शिक्षा नै पढ्न पाउँदैन ।

‘कलेज र शिक्षकले दिने मेन टर्चर भनेको फेल गराइदिने, इक्जाम रोकिदिने धम्की नै हो । यदि कोही विद्यार्थीले कलेजको विरुद्धमा बोल्यो वा कलेजका बारेमा कम्प्लेन गर्‍यो भने उनीहरूलाई परीक्षामा रोकिदिने वा फेल गराइदिने गर्छन्,’ ती विद्यार्थीले भने ।

लिखित परीक्षाको पेपर चेक गर्नका लागि काठमाडौं पठाइन्छ । तर, कलेज तथा शिक्षकहरूले विद्यार्थीसँग बदला लिन सक्ने भनेको प्रयोगात्मक परीक्षा हो । उक्त परीक्षामा फेल भयो भने त्यो विद्यार्थी फेल नै हुन्छ ।

‘विद्यार्थीले लाखौं रूपैयाँ खर्च गरेर पढ्न आएका हुन्छन् । पढाइको बोझ बढी नै हुन्छ । त्यसमाथि सरहरूले अनावश्यक टर्चर दिन्छन् । समस्यामा परेको विद्यार्थीलाई झन् सान्तवना दिनुपर्नेमा उल्टै होच्याउने, डोमिनेट गर्ने गर्छन्’

सरकारी कलेजभन्दा पनि निजी कलेजहरूमा यस्तो खालको समस्या बढी छ । उनीहरूले त विद्यार्थीलाई जहानियाँ शासन जस्तै दबाएर राख्न खोज्छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भामले कलेजहरूमा विद्यार्थीमाथि हुने मानसिक र शारीरिक यातना निकै बढेको बताए ।

‘विद्यार्थीले लाखौं रूपैयाँ खर्च गरेर पढ्न आएका हुन्छन् । पढाइको बोझ बढी नै हुन्छ । त्यसमाथि सरहरूले अनावश्यक टर्चर दिन्छन् । समस्यामा परेको विद्यार्थीलाई झन् सान्तवना दिनुपर्नेमा उल्टै होच्याउने, डोमिनेट गर्ने गर्छन्,’ भामले भने ।

सरकारी कलेजहरूमा विभिन्न संघ संस्थामा लागेको भन्दै थप टर्चर तथा यातना दिने गरेको उनको भनाइ छ । ‘कोही साथीहरू राजनीतिमा लागेका हुन्छन्, कोही सामाजिक कार्यमा हुन्छन् । कोही अन्य काममा व्यस्त हुन्छन् । फरक राजनीतिक आस्था राखेकै भरमा तलाई फेल गराइदिन्छु भन्ने । केही कुरामा चित्त बुझेन भने फेल गराइदिन्छु भन्ने जस्ता कुराहरू त सामान्य नै हुन्छन्,’ उनले भने ।

छात्राहरूको हकमा थप कपडा लगाएको विषयमा बोलाएर गाली समेत गर्ने गरेको उनले बताए । यसले विद्यार्थी, शिक्षक र कलेज सबैलाई हानी भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रोमा सिनियरिटीको इगो हुन्छ । यतिसम्म कि सिनियर प्रोफेसरले जुनियर प्रोफेसरलाई र सिनियर विद्यार्थीले जुनियर विद्यार्थीलाई हेप्ने, होच्याउने व्यवहार हुन्छ । सिनियरले जे भने पनि चुप लागेर बस्नुपर्ने, उनीहरूले भनेको मान्नुपर्ने हुन्छ । पहिलादेखि नै दास मनोवृत्ति देखिन्छ ।’

पढाइको प्रेसर बढी हुँदा मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरू नियमित औषधि खाएर पढ्ने गरेका छन् । त्यसमाथि परीक्षाको समयमा थप औषधि खान्छन् ।

अध्यक्ष भामका अनुसार मेडिकल पढ्ने विद्यार्थीहरूमा मेन्टल हेल्थको समस्या एकदम बढिरहेको छ । ‘मेन्टल हेल्थका कारण पढाइ नै छोडेर जानुपर्ने अवस्था छ । मेरै व्याचमा ३/४ जना साथीहरूले पढाइ छोडेर गए । उनीहरू नेपालको टप स्कलरसिप निकालेर आएका थिए । मेरो र्‍याङ्क ३० थियो । अल नेपाल र्‍याङ्क ४/५ मा नाम निकालेकाहरू पनि यस्तो खालको टर्चरका कारण पढाइ छोडेर गए,’ भामले भने ।

कतिपय विद्यार्थीले राम्रोसँग पढ्न नसकेर, कतिले फेल भएर बीचमै पढाइ छोडेर जाने गरेका छन् । विद्यार्थीमा पढाइको भार पनि निकै बढी हुन्छ । एमबीबीएस प्रथम वर्षमा ६ वटा विषयको ३ वटा सिस्टम परीक्षा हुन्छन् । जस अनुसार प्रति वर्ष १८ वटा परीक्षा हुन्छ । ती परीक्षा ४ घण्टामा सिंगल पेपरमा दिनुपर्छ । दोस्रो वर्षमा पनि त्यस्तै हुन्छ ।

कुनै वर्ष धेरै विषयको पढाइ भार हुन्छ भने कुनै वर्ष समय लामो तोकिन्छ तर, पढ्नुपर्ने विषय कम हुन्छन् ।

पढाइको प्रेसर बढी हुँदा मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरू नियमित औषधि खाएर पढ्ने गरेका छन् । त्यसमाथि परीक्षाको समयमा थप औषधि खान्छन् । ‘रेगुलर औषधि खाएर पढ्ने विद्यार्थीहरू धेरै हुन्छन् । त्यसपछि परीक्षाको समयमा थप औषधि खाएर पढ्ने पनि हुन्छन् । परीक्षाको अघिल्लो दिन औषधि खाएर परीक्षा दिन जाने घटना त सामान्य नै हुन्,’ भामले भने ।

एनएमसी कलेजमा गत वर्ष विद्यार्थीहरूले होस्टेल सेवा राम्रो नभएको, खाना राम्रो नभएको, अनावश्यक शुल्क लिने गरेको जस्ता विषयलाई लिएर आन्दोलन गरे । विद्यार्थीले आन्दोलन गर्‍यो भन्दै कलेजले उनीहरूलाई ‘परीक्षामा देखाइदिने’ धम्की दिइरह्यो । नभन्दै आन्दोलन गर्ने धेरै विद्यार्थीलाई कलेजले फेल गराइदिएको विद्यार्थीहरुको आरोप छ ।

‘आंशिक परीक्षा रोकिदिने । त्यो रोकिदियो भने वार्षिक परीक्षा दिन पाएनन् । त्यसपछि विद्यार्थीले सप्लिमेन्ट्री परीक्षा दिनुपर्‍यो । त्यसका लागि फेरि अर्को १० औं हजार रूपैयाँ तिर्नुपर्‍यो,’ एक विद्यार्थीले भने ।

प्राइभेट कलेजमा विद्यार्थीमाथिको अर्को शोषण भनेको बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म पढ्न लगाउनु हो । यसरी विद्यार्थीहरूले आफूमाथि हुने गरेको मानसिक र शारीरिक यातनाका विरुद्धमा आवाज उठाउन खोज्दा फेरि परीक्षामा फेल गराइदिने धम्की आउँछ । सरोकारवाला निकाय भने यसमा मौन देखिन्छन् ।

महाराजगन्ज मेडिकल कलेजका स्ववियु सभापति आनन्द सिंहले विद्यार्थीका समस्याबारे पटक पटक आग्रह गर्दा पनि समाधान हुन नसकेको बताए । ‘विद्यार्थीमाथि हुने हिंसाका विषयमा कलेज प्रशासन, आईओएम लगायतमा पटकपटक उजुरी गर्ने गरेका छौं तर, समस्याको समाधान गर्नुका साटो उल्टै फेल गराउने धम्की दिने, विद्यार्थीलाई नै उल्टै दोषी देखाउने गर्छन्,’ सिंहले भने ।     

आईओएमले भने यो विषयमा विद्यार्थीहरूबाट कुनै गुनासो नआएको दाबी गरेको छ । उजुरी परेको वा गुनासो आएको खण्डमा आवश्यक समन्वय गर्न सकिने आईओमको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप