बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चार गुणा घट्यो टेलिकमको रोमिङ महसुल

बुधबार, ०३ जेठ २०८०, १० : ०२
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ ।

गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत भ्रमणमा गएको बेला त्यहाँका नेपालीले रोमिङ महसुल घटाउन माग गरेका थिए । भ्रमण पछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम टेलिकमले आजदेखि रोमिङ सेवाको महसुस घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले बताए ।

नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ ।

यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो ।

त्यस्तै थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिँदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँदा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ ।

त्यस्तै भारत र थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप