शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसदमा ‘जिन्स र टिसर्ट’ लगाएर जानुपर्छ भन्ने रास्वपाको नीति हैन : प्रमुख सचेतक परियार

बुधबार, ०३ जेठ २०८०, १६ : ३२
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठकमा जाँदा अनौपचारिक अर्थात जिन्स र टिसर्ट लगाएर जानुपर्छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नीति नभएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै परियारले कुनै सांसदले अनौपचारिक पोसाक लगाउने वकालत गरेमा त्यो व्यक्तिगत भनाई हुने उल्लेख गरे । 

गत सोमबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले संसद् बैठकमा जिन्स र टिसर्ट लगाएर जान पाउनुपर्ने धारणा राख्दै त्यस्ता पोसाक लगाएर संसद्मा जान रोक लगाउनु नयाँ पुस्तामाथिको रणनीतिक हमला भएको टिप्पणी गरेकी थिइन् । उनले त्यस्तो पोसाक लगाएर संसद्मा जान कसैले रोक्न सक्दै नसक्ने टिप्पणी समेत गरेकी थिइन । 

सांसद श्रेष्ठको सो अभिव्यक्तिपछि राज्यको महत्त्वपूर्ण प्रमुख अङ्गको रूपमा रहेको संसद् सदस्यले मर्यादित पोसाकको खिल्ली उडाउन खोजेको भन्दै आलोचना बढेको छ । 

रास्वपाका प्रमुख सचेतक परियारले सोमवारको बैठकमा सांसद श्रेष्ठले पोसाकको बारेमा संसद्मा गरेको टिप्पणी पार्टीको धारणा नभई उनको व्यक्तिगत धारणा रहेको टिप्पणी गरे । प्रमुख सचेतक परियारले भने– ‘त्यो उहाँको व्यक्तिगत धारणा हो, पार्टीको धारणा हैन । संसद् बैठकमा जाँदा लगाउने पोसाकको बारेमा हाम्रो संसदीय दलको बैठकमा पनि कुरा उठेको थियो । पार्टी सभापतिले नै यस विषयमा वैयक्तिक स्वतन्त्रतालाई सम्मान गर्ने बताउनुभएको थियो ।’

उनले अगाडि भने– ‘एउटा लोकतान्त्रिक पार्टी वैयक्तिक स्वतन्त्रतालाई सम्मान गर्छ । तर त्यसो भनिरहँदा एउटा स्थापित भएको मूल्यमान्यता र मर्यादा पनि हुन्छ । हामी जुन राजनीतिक व्यवस्थामा छौँ त्यसको आफ्नै मूल्य मान्यतालाई हामी नदेखा गर्न सक्दैनौँ । अर्कोतिर एउटा सार्वभौम सांसदलाई यो लगाउने यो खाने यो नखाने भन्ने कुरा कतिको जायज हो त्यो अर्को छुट्टै बहसको विषय होला । तर त्यसो भनिरहँदा स्थापित मूल्य मान्यताभन्दा बाहिर जान नदिनु सभामुखको जिम्मेवारी पनि हो । प्रतिनिधिसभा नियमावली २०७९ मा पनि सांसद सदस्यले मर्यादित पोसाक लगाउनुपर्ने विषय लेखेको पनि छ । हाम्रो संसदीय दलको बैठकमा पनि यसबारे कुरा हुँदा संसद्को पोसाकको बारेमा पार्टीको धारणा नहुने र कसैले बोलेमा त्यो व्यक्तिगत धारणा हुने कुरा भएको थियो ।’ 

सो पार्टीका सभापति एवं सांसद रवि लामिछानेले विगतमा नेपालमा बनेको कपडा मात्र लगाउने सार्वजनिक घोषणा गरेका थिए । तर सोही दलकी सांसद सुमना श्रेष्ठले भने संसद्मा टिसर्ट र जिन्स लगाएर जान पाउनुपर्ने पक्षमा वकालत गर्दै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप