मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
विश्व उच्च रक्तचाप दिवस

के उच्च रक्तचापको औषधि बीचैमा छुटाउन सकिन्छ ?

बुधबार, ०३ जेठ २०८०, १८ : ०९
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । उच्च रक्तचाप भएपछि बाँचुन्जेल औषधि खानुपर्छ भन्ने त्रासले धेरैले हत्तपत्त औषधि सेवन गर्न मान्दैनन् । 

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रिजु मानन्धरका अनुसार उच्च रक्तचापको औषधिको नियमित औषधी सेवन गर्न डराउँदा स्वास्थ्यमा गम्भीर खालका स्वास्थ्य समस्या देखिन सक्छ । 

नियमित औषधि खानुपर्ने अवस्थामा नखाएमा मस्तिष्क घात, हृदयाघात, मिर्गौला, आँखामा समेत हानी गर्ने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि सेवन गर्न उनको सुझाव छ । 

उनी भन्छन्, ‘एउटा औषधि खान डराउँदा धेरै बेफाइदा हुन्छ । औषधिले मुख्य कुरा ब्लडप्रेसर नियन्त्रण गर्ने हो । त्यसैले, नडराइकन चिकित्सकको सल्लाहमा औषधि सेवन गरौँ ।’

ब्लडप्रेसरको औषधि सेवन गरेपछि बिस्तारै घट्दै गएमा औषधिको मात्रा घटाउँदै लगेर बन्द गर्न समेत सकिने डा मानन्धरले बताए । 

उच्च रक्तचाप भइसकेपछि कठोर भई जीवन शैलीलाई सकारात्मक परिवर्तन गर्नुपर्छ । उच्च रक्तचाप भएको सुरुवाती समयमा डाक्टरकै सल्लाहमा औषधि सेवन नगरी नियमित शारीरिक अभ्यास, खानपान ध्यान र तनावपूर्ण जीवनशैलीबाट मुक्त भएमा कम गर्न सकिने उनको भनाई छ । 

उनले भने, ‘खानपिन र शारीरिक अभ्यासले प्राकृतिक रूपमा उच्च रक्तचाप घटेमा राम्रो पक्ष हो ।’

डा मानन्धरका अनुसार उच्च रक्तचाप सामान्यतया ४० वर्ष कटेपछि देखिन्छ भनिए पनि पछिल्लो समय ३० वर्षको उमेरदेखि नै देखिन थालेको छ ।

जङ्कफूड बढी खाने, शारीरिक अभ्यास नगर्ने, प्रेसरमा काम गर्ने, तनाव बढी लिने भएकाले उच्च रक्तचाप कम उमेरमै देखिन थालेको उनले बताए ।

१२० भन्दा माथि प्रेसर भएमा त्यसलाई उच्च रक्तचाप भनिन्छ । शरीर भित्रैको थ्रेस होल्ड बढेर उच्च रक्तचाप हुने हो । उच्च रक्तचाप भएका सबैमा कारण भने देखिदैन । उच्च रक्तचाप देखिने ९० प्रतिशतमा नकारात्मक जीवनशैली भएको उनको जिकिर छ । 

आलस्य जीवन, जङ्कफुड र तनावपूर्ण जिन्दगी हुँदा रगतको नली बिस्तारै कडा भएर जाने भएकाले उच्च रक्तचाप बढ्दै जाने डा. मानन्धरले बताए ।

उच्च रक्तचाप हुँदाका लक्षण

मुटु रोग विशेषज्ञ डा. मानन्धरका अनुसार उच्च रक्तचाप हुँदाको लक्षण यस्ता छन्:  

–टाउको दुख्ने शरीर भारी हुने

–कसैको टाउको पछाडिपट्टि मात्रै दुख्ने, झुम्म हुने 

–रिंगटा लाग्ने 

– थकान महसुस हुने 

–एक्कासि नाकबाट रगत बग्ने 

–वाकवाकी लाग्ने 

–मुटुको धड्कन बढ्ने ।   

उच्च रक्तचापबाट कसरी जोगिने ?

डा.मानन्धरका अनुसार उच्च उच्च रक्तचापबाट जोगिने उपाय निम्न छन्: 

–नियमित शारीरिक अभ्यास गर्ने

–धूम्रपान, मद्यपान नगर्ने 

–हरियो सागसब्जी र फलफूल धेरै खाने 

–नुनको प्रयोग कम गर्ने 

– बोसोयुक्त मासु कम खाने   

–पानी धेरै पिउने 

–लामो समयसम्म पल्टिएर आलस्य भई मोबाइल धेरै नहेर्ने  

–तनावमुक्त भई सकारात्मक सोच राख्ने ।

प्रेसर नियमित नापौँ

सामान्यतया बिरामी पर्दा र विदेश जाने बेलामा मेडिकल टेष्ट  गर्दा मात्रै ब्लड प्रेसर नाप्ने चलन छ ।  उच्च रक्तचाप बढेको त्यसबेला मात्रै थाहा पाउने गरेको डा. मानन्धर सुनाउँछन् ।  

‘बिस्तारै उच्च रक्तचाप बढ्छ । तर, धेरै जनाले थाहा पाउनु हुन्न ।’ उनले भने, विना लक्षण पनि उच्च रक्तचाप हुन सक्ने भएकाले समय समयमा जाँच गर्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप