बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली शरणार्थी प्रकरण

टोपबहादुरसहित ४ जना मुख्य योजनाकार, गृहमन्त्री भएपछि जोडिए बालकृष्ण खाण

मन्त्री र सचिवसँग गिरोहको मिटिङ
आइतबार, ०७ जेठ २०८०, १७ : ४६
आइतबार, ०७ जेठ २०८०

काठमाडौं । बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भए । २०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमा नै भेटेर ‘मिटिङ’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बालकृष्णलाई गिरोहले दोस्रो चरणमा जोडेका थिए ।

पहिलो चरणको प्रक्रियामा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, छोरा प्रतीक थापा र नेकपा एमालेका सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझी मार्फत नै काम भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

शरणार्थीको नाममा ठगी धन्दा चलाउने मुख्य योजनाकार टोपबहादुर रायमाझी, ‘बादल’का सुरक्षा सल्लाहकार डा.  राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन् ।

सानु भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका थिए । ललितपुर महानगरपालिका–२३ मा बस्छन् सानु भण्डारी । पूर्व उप–प्रधानमन्त्री रायमाझी पनि सानुको घर नजिकै बस्छन् । भण्डारीले रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् । मोरङका केशव दुलालसँग चिनजान भएपछि आफूलाई ‘भुटानी शरणार्थी सम्बन्धी प्रोजेक्टमा लगानी गरौं’ भनेर प्रस्ताव आएको भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । भण्डारीले भनेका छन्,‘मसँग केही पैसा थियो, लगानी गरेर काम शुरु गरेका हौँ ।’

टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ । इन्द्रजितले धन्दामा ‘बादल’का छोरा प्रतीक थापालाई सहभागी गराए ।

दाङ घर भएका सन्देश शर्मालाई शरणार्थी प्रकरणमा प्रतीक थापाले जोडेका हुन् । प्रहरीसँगको बयानमा शर्माले भनेका छन्, ‘प्रतीक थापा मेरो साथी हो ।’ सन्देश शर्माले दाङका गजेन्द्र बुढाथोकीलाई सो प्रकरणमा ल्याएको अनुसन्धानबाट खुलेको छ । गजेन्द्र आफैँ पनि पीडित हुन् । गजेन्द्रले अमेरिका जान खोज्नेहरूबाट रकम असुल गरेर सन्देश शर्मालाई बुझाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । २०७९ जेठ १८ मा गजेन्द्रले नै दिएको उजुरी अनुसार अनुसन्धान अघि बढ्यो । तर, अनुसन्धान टुंगिने बेलामा उनीचाहिँ फरार भएका छन् ।

डा. इन्द्रजित राईका छोरा नीरज राईलाई पनि प्रतिकले नै जोडेका हुन् । टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पहिलो चरणमा नै जोडिए । बुटवलबाट पक्राउ परेका सन्दीप वैशाख २० बाट प्रहरीको हिरासतमा छन् । ५० वर्षीय सानु भण्डारीले सन्दीप रायमाझीको नाम बयानमा खुलाएका थिए ।  

पहिलो चरणको सेटिङ

टोपबहादुर रायमाझी –डा. इन्द्रजित राई

सानु भण्डारी–केवश दुलाल

डा.इन्द्रजित राई–प्रतिक थापा–सन्देश शर्मा– निरज राई–सन्दिप रायमाझी

बालकृष्ण खाणलाई शरणार्थी प्रकरणमा ल्याउने भूमिका सागर राईले खेलेका हुन् । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष राई चैत १५ बाट प्रहरीको हिरासतमा छन् ।

नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधि समेत रहेका सागरले सानु भण्डारीलाई लिएर गृह मन्त्रालयमा पुगेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ‘तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेले सागर राई र सानु भण्डारीसँग मन्त्रालयमा नै छलफल गरेको पुष्टि भएको छ,’ अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन्, ‘कार्यदलले दिएको प्रतिवेदनमा नाम सहितको अनुसूची थपेर अमेरिका पठाउने प्रक्रियामा खाण सुरुदेखि नै जानकार थिए ।’

दोस्रो चरणको सेटिङ

सानु भण्डारी–सागर राई–बालकृष्ण खाण–टेक नारायण पाण्डे –नरेन्द्र केसी (बालकृष्ण खाणको स्वकीय सचिव)

सन्देश– गजेन्द्र बुढाथोकी–शमशेर मियाका (हज समिति अध्यक्ष)

सागर राई –टेकनाथ रिजाल ( शरणार्थी नेता)

बालकृष्ण खाण–आङ्टावा शेर्पा

 

२०७८ साउन २७ मा टेक नारायण पाण्डे गृह मन्त्रालयमा सरुवा भएर आए । गृहमन्त्रीसँग कुरा भएपछि गृह मन्त्रालयबाटै भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा स्थानान्तरण सम्बन्धी परिपत्र गरेको अनुसन्धानबाट थाहा भएको छ । परिपत्र गरेबापत सचिव टेकनारायण पाण्डेले गिरोहसँग ५० लाख रकम लिएको आरोपीहरूले बयानमा खुलाएका छन् । आरोपीमध्येका सन्देश शर्माले भनेका छन्, ‘ तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसँग मन्त्रालयमै भेटघाट र छलफल हुन्थ्यो ।’

शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।

२०७९ चैत २९ मा योजनाकार मध्येका एमाले निकट विद्यार्थीका नेता सन्देश शर्मा पक्राउ परे । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणमा टोखा नगरपालिका–६ स्थित धापासी घर भएका राम शरण केसी र गोविन्द चौधरी पनि प्रहरीको हिरासतमा छन् । ५१ वर्षीय रामशरण दाङका स्थानीय हुन् । केसी र चौधरी अमेरिका जान पाउने आशामा जोडिएका दोस्रो लेयरका सदस्यहरु हुन् । 

डा. इन्द्रजित राई वैशाख १९ मा पक्राउ परेका थिए । सानु भण्डारीको डायरीमा भेटिएको रेकर्ड अनुसार डा. राईले १ करोड ५० लाख लिएको देखिन्छ । भण्डारीले ३ पटक ‘डा. इन्द्रजित सर’ लाई  नगद दिएको डायरीमा उल्लेख गरेका छन् ।

अनुसन्धान अधिकृतहरूसँगको बयानमा चाहिँ भण्डारीले उनलाई ५ करोड ५० लाख दिएको जिकिर गरेका छन् ।

शरणार्थी कोटामा अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा १४५ जनाले प्रहरीमा जाहेरी दिएका छन् । आरोपीहरुले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो प्रकरणमा १६ जना प्रहरीको हिरासतमा छन् ।

शमशेर र टेकनाथ कसरी मुछिए ?

खाणसँग निकट थिए कांग्रेसका पूर्व सभासद् आङटावा शेर्पा । शेर्पापनि खाणमार्फत नै सो गिरोहमा जोडिएको अनुसन्धानबाट थाहा भएको छ ।

हज समितिका अध्यक्ष शमशेर मिया चाहिँ मन्त्रालयको गाडी गिरोहलाई चढ्न दिएको कारण ठगीमा मुछिएका हुन् । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पट्रोल जिप लिएर सन्देश शर्मा चितवन लगायतका ठाउँमा पुगेको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीहरूले शरणार्थी नेता टेकनाथ रिजालको छवि बेचेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । सागर राईसँग पुरानो चिनजानमा रहेका रिजाल पनि गिरोहसँगको मिटिङमा सहभागी भएको प्रहरीले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप