शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
शरणार्थीको नाममा ठगी प्रकरण

सचिव टेकनारायण पाण्डे र केशव दुलालबीच लामो ‘च्याट’

बुधबार, २० वैशाख २०८०, १९ : ४४
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ ।

शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाण्डे सहित ७ पुगेको छ ।

मंगलबार ललितपुरबाट पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए । त्यसअघि नै ५ जना पक्राउ परिसकेका थिए ।

शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।

ठगीमा संलग्न मुख्य योजनाकार दाङका सन्देश शर्मा पक्राउ परेपछि उनको बयानका आधारमा उच्च पदस्थ अधिकारीहरू पक्राउ पर्न थालेका हुन् । पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दै छ । 

पक्राउ परेका सचिव पाण्डे र दुलालको बीचमा ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।  

ललितपुर महानगरपालिका–२३ का सानु भण्डारी र दुलालसँग सचिव पाण्डेको ‘कनेक्सन’ देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘केशव दुलालसँग शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने बारे पाण्डेको लामो कुराकानी भएको देखिन्छ ।’

दुलाल र पाण्डेको बीचमा भएको लामो ‘च्याट’ भेटिएपछि प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतले भने–‘ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।’

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ठगीमा संलग्न आरोपमा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र डा. इन्द्रजित राईका छोरा नीरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा झन्डै डेढ सय जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरकर्ताको सङ्ख्या १ सय ४५ पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई बताए ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीले आरोपीहरू विरुद्धको मुद्दा ‘संगठीत ठगी’मा रूपान्तरण गरेको छ । ‘संगठित ठगी’ मुद्दामा प्रहरीले आरोपीहरूलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।  

आरोपीहरूले पीडितलाई बनाइदिएको ७ थान ‘शरणार्थी परिचयपत्र’ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको थियो ।

बरामद गरिएको परिचयपत्रको ‘आधिकारिकता’ बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले प्रहरीलाई ती परिचयपत्र ‘गृह मन्त्रालयबाट जारी नभएको’ जवाफ पठाएको छ ।

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार सन्देश शर्माले मन्त्रालय मिलाउने जिम्मा आफ्नो रहेको बयान दिएका छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक आफ्नो साथी भएको उल्लेख गर्दै शर्माले भनेका छन्, ‘गृह मन्त्रालयमा कुरा गर्ने र सूचना ल्याउने जिम्मा मेरो थियो ।’

गृहमा मिलाएबापत केशव दुलाल र सानु भण्डारीले आफूलाई ‘मोटो रकम’ आउने आश्वासन दिएको शर्माले प्रहरीसँगको बयानमा बताएका छन् ।

प्रहरीले शर्मा र पीडितमध्येका गजेन्द्र बुढाथोकीको बीचमा भएको अडियो बरामद गरेको छ । बरामद गरिएका अडियोहरु प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आफ्नो र गजेन्द्रको बीचमा भएको अडियो कुराकानीबारे शर्माले जवाफ दिएका छैनन् । प्रतीक थापा र सन्देश बीचको कनेक्सनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप