बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान् श्रीमतीबीच घरको काम बाँड्न स्पेनले तीन करोड खर्चेर एप बनायो, यस्तो गर्ने पहिलो देश बन्यो

सोमबार, ०८ जेठ २०८०, १३ : ०४
सोमबार, ०८ जेठ २०८०

श्रीमान्‌ले घरको काम गरिरहेका छन् वा छैनन् भन्ने बारे पत्ता लगाउन स्पेनको सरकारले एउटा एप ल्याउने योजना बनाएको छ । यो एपले श्रीमतीलाई श्रीमानले घरको काममा कति समय दिइरहेका छन् भन्नेबारे जानकारी दिन्छ । यो एप ल्याउनुको उद्देश्य महिला–पुरुष बीच घरको काममा समान बाँडफाँट गर्नु हो ।

यस्तै उक्त एपले कति जना सदस्यले घरको काममा कति समय दिइरहेका छन् भन्नेबारे पनि जानकारी दिन्छ । यसका लागि स्पेनको सरकारले १,८४,००० पाउन्ड अर्थात् तीन करोडभन्दा बढी रुपैयाँ बजेट छुट्टाएको छ । यद्यपि, यो एपले कसरी काम गर्छ भन्ने बारे कुनै जानकारी दिइएको छैन । एप लन्च गरेपछि, पुरुष र महिलाको घरेलु कामको निगरानी गर्ने स्पेन पहिलो देश हुनेछ ।

गर्मीमा एप लन्च गर्ने तयारी 

एपले पुरुषको तौल घट्यो कि घटेन भन्ने कुराको पनि रेकर्ड राख्ने बताइएको छ । स्पेनको लैङ्गिक समानता मन्त्री एन्जेला रोड्रिगेजले यो एप यस गर्मीमा लन्च गर्ने योजना रहेको बताइन् । यो एपले घरलाई राम्रोसँग चलाउन मद्दत गर्ने पनि उनले अपेक्षा गरेकी छिन् ।

यो एपले घरमा छोरा, छोरी, बुवा, आमा वा श्रीमान्–श्रीमतीबीच काम बाँड्नका लागि सघाउ पुर्‍याउने आशा गरिएको छ । घरको काममा यी व्यक्तिबीच कामको बाँडफाँटमा निकै ठुलो असमानता छ । मन्त्रीले यस विषयमा भनेकी छिन्, ‘महिलाहरू पुरुषको तुलनामा घरेलु काममा बढी समय खर्च गर्छन् ।’

राष्ट्रिय तथ्याङ्क संस्थानको सर्वेक्षणमा सहभागी झन्डै आधा महिलाले घरको अधिकांश काम आफूले गर्ने गरेको बताए । यस्तै, १५ प्रतिशतभन्दा कम पुरुषले मात्रै घरको अधिकांश काम गर्ने गरेको बताए । 

यो एपको आवश्यकता किन पर्‍यो ?

स्पेनमा धेरै वर्षदेखि घरेलु काममा महिला र पुरुषबीचको असमानताले कानुनी विवादको रङ लिएको छ । अप्रिल २०१७ मा, क्यान्टाब्रियाको एक अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई ३२ लाख रुपैयाँ तिर्न आदेश दिएको थियो ।

यस वर्षको सुरुमा, भेलेज–मालागाको एक अदालतले एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २५ वर्षको बेतलबी घरेलु श्रमको लागि २.९२ करोड रुपैयाँ तिर्न आदेश दिएको थियो । यो रकम विवाहको समयमा न्यूनतम पारिश्रमिकको आधारमा गणना गरिएको थियो ।

महिलाका अनगिन्ती कामको पर्दाफास हुने

स्पेनी सरकारको एपले घर वरपरका अनगिन्ती कामका साथसाथै महिलाको ‘मानसिक भार’लाई पनि अगाडि ल्याउने विज्ञहरूको आशा छ । देशमा महिला सशक्तीकरण र लैङ्गिक समानता हटाउन निरन्तर प्रयास भइरहेका छन् ।

यस वर्षको मार्चमा स्पेनले लैङ्गिक समानता कानुन ल्याएको छ । यसअन्तर्गत कर्पोरेट बोर्डमा कम्तीमा ४० प्रतिशत महिला हुन आवश्यक छ । यससँगै मन्त्रिपरिषद्मा महिलाको कोटा पनि तोकिएको छ । संसद्को तल्लो सदनमा ४४ प्रतिशत र माथिल्लो सदनमा ३९ प्रतिशत महिला कोटा राखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप