आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

बिहीबार, ११ जेठ २०८०, १८ : ५६
बिहीबार, ११ जेठ २०८०

एथेन्स । ग्रीसमा बुधबार सरकार गठनको प्रयास असफल भएपछि यसै वर्षायाममा दोस्रो आम निर्वाचन हुने भएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टी न्यू डेमोक्रेसी पार्टीले आइतबार भएको निर्वाचनमा ४०.७९ प्रतिशत मत प्राप्त गरे पनि संसदीय बहुमत प्राप्त गर्न नसकेपछि गठबन्धन सरकार बनाउने प्रयास गरेको थियो । गठबन्धन सरकार गठनको प्रयास असफल भएपछि ग्रीसका राष्ट्रपति कटेरिना साकेलारो पोलोउले ग्रीसको सर्वोच्च आर्थिक अदालतका अध्यक्ष इओनिस सरमासलाई कामचलाउ सरकारको प्रमुखमा नियुक्त गरेका छन् । 

उनको नेतृत्वको सरकारले देशलाई निर्वाचनमा लैजानेछ । तीन सय सदस्यीय नयाँ संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतासँगको बैठकपछि यो कदम चालिएको हो ।

“स्वीकार गर्नु मेरो संवैधानिक दायित्व हो र नागरिकको रूपमा मेरो कर्तव्य पनि हो,“ सरमासले राष्ट्रपतिको कामचलाउ सरकारको प्रमुखका लागि गरेको आग्रहपछि सकारात्मक जवाफ दिँदै भने । 

ग्रीसको संविधानअनुसार यस्तो अवस्थामा कामचलाउ सरकारको नेतृत्व गर्न एक जना उच्च न्यायाधीश नियुक्त गरिन्छ । नयाँ सरकारले यसै साताको अन्त्यमा शपथ ग्रहण गर्ने अपेक्षा गरिएको छ । रोचक कुरा के छ भने नवनिर्वाचित सांसदहरूले आइतबार शपथ लिनेछन् र संसद् विघटन हुनेछ । सोमबार नयाँ निर्वाचनको घोषणा हुनेछ ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगामी जुन २५ मा पुनः निर्वाचन को आह्वान गरेका छन् । अर्को चुनावमा संशोधित निर्वाचन प्रणाली प्रयोग गरिनेछ, जसले विजयी दललाई ५० अतिरिक्त सिटको बोनस प्रदान गर्नेछ र यसले एक दलीय सरकार गठन गर्न मद्दत गर्नेछ । 

राजनीतिक विश्लेषकहरुका अनुसार यो प्रणालीअन्तर्गत सबैभन्दा अगाडि रहेको उम्मेदवारले करिब ३८ प्रतिशत मतका साथ संसद्मा पूर्ण बहुमत प्राप्त गर्न सक्छ । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप