बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पौडीमा ११ स्वर्णसहित काठमाडौँ प्रथम

बिहीबार, ११ जेठ २०८०, २० : ०७
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्यसहित दोस्रो बागमती प्रदेश प्रतियोगिताको पौडीतर्फ प्रथम भएको छ । दोस्रो स्थानमा रहेको ललितपुरले ७ स्वर्ण, ७ रजत र १० कांस्य प्राप्त गर्‍यो ।

पुरुषतर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिलातर्फ काठमाडौँकी आर्या महर्जनले ३ स्वर्ण जितिन् ।

जिल्ला खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । काठमाडौँका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कांस्य पदक पाए । महिलातर्फ काठमाडौँकी रोयल प्रजापतिले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन् । 

यसैगरी काठमाडौँकी अदिप्सा वैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कांस्य पाए ।

ललितपुर अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुषतर्फ काठमाडौँका जाडेन श्रेष्ठ र काठमाडौँकै आर्या महर्जनले स्वर्ण जिते । जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दुरी पुरा गरे । पुरुष तर्फ ललितपुरका अभिर प्रधान र काठमाडौँका गौरव लामाले रजत र कांस्य पाए । यस्तै महिलातर्फ  काठमाडौँकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कांस्य पाए ।

२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाडौँका सनिल कुमार थापा मगरले २ मिनट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते । यस्तै महिलातर्फ काठमाडौँकी आर्या महर्जनले २ मिनट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुरुष तर्फ काठमाडौँका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कांस्य पाए । यस्तै महिलातर्फ काठमाडौँकी अदिप्सा वैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कांस्य पाए ।

५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मार्‍यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । उनले उक्त दुरी २७.९० सेकेन्डमा पुरा गरे । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कांस्य पाए । यस्तै महिलातर्फ पनि ललितपुरले तीन वटै मेडल हात पार्‍यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कांस्य पाए ।

५० मिटर फ्रिस्टायलमा पुरुषतर्फ ललितपुरले ३ वटै मेडल कब्जा गर्‍यो । अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कांस्य पाए । यस्तै महिला तर्फ काठमाडौँकी रोयल प्रजापतिले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाडौँकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कांस्य पाए ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोस्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप