कोशी नामकरण खारेजको माग राख्दै युवा सडकमा
विराटनगर । कोशी प्रदेश नामकरण खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै ‘पहिचानका लागि युवा’ समूहले शुक्रबार साँझ विराटनगरमा प्रदर्शन गरेका छन् ।
विराटनगरस्थित महेन्द्र चोकबाट निस्किएको शान्तिपूर्ण र्याली मुख्यमन्त्री रोडशेष चोक, ट्राफिक चोक हुँदै सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।
कोणसभामा बोल्दै पहिचानवादी नेताहरूले कोशी नामकरण खारेज गरी पहिचानको आधारमा नामकरण नगरे आन्दोलन थप कडा भएर जाने बताए । उनीहरुले पहिचानलाई दबाउन खोज्नेहरू राजतन्त्र जसरी नै समाप्त भएर जाने बताए ।

पहिचानका लागि युवाका संयोजक विराज लिम्बुले गुण्डागर्दी शैलीमा राखिएको नाम खारेजी गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने बताए । पहिचानको आधारमा नामकरण नभएपछि यो आन्दोलनले निरन्तरता पाउने उनको भनाइ छ ।
कार्यक्रममा पहिचानबादी नेता अर्जुन जम्मेली राईले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरणमा पुनः विचार नगरे आन्दोलन सशक्त भएर जाने बताए ।
प्रदेशको पुनः नामकरण संघर्ष समितिले शुक्रबार नै ‘पहिचानका लागि युवा’ समूह घोषणा गरेको हो ।
किराँत राई यायोख्खाका महासचिव भीम राईले पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको जानकारी दिए ।
किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेङले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए ।

शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारीविरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै उनले शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा जारी गरेको जनाए ।
उनका अनुसार पहिचानका लागि युवा समूहको १५१ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । संयोजकमा मनु लिम्बु, सहसंयोजकमा रग्बा शेर्पा छन् । यस्तै सचिबमा साहस राई, सहसचिवमा जेन्टल लावती, कोषाध्यक्षमा क्षितिज लावती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण