शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
बजेट

गण्डकी प्रदेशको आगामी बजेट : स्थानीय तहलाई सशर्त अनुदान घटाउने, निशर्त बढाउने

शनिबार, १३ जेठ २०८०, ०७ : ०६
शनिबार, १३ जेठ २०८०

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले प्रथम पञ्चवर्षीय योजना र दिगो विकास लक्ष्यलाई पूरा गर्न आगामी बजेट केन्द्रीत हुने बताएका छन् । 

प्रदेश सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुतका क्रममा मनत्री मगरले उक्त भनाई राखेका हुन् । 

प्रदेश सरकारले प्राप्त अनुदानको उद्देश्यअनुरुप परिचालन गर्ने नीति लिने उनको भनाइ छ । बजेटमार्फत् स्थानीय तहमा हस्तान्तरित अनुदानलाई समेत उद्देश्यअनुरुप कार्यान्वयन गर्न नियमित अनुगमन, ज्ञान हस्तान्तरण, अन्तर्क्रियामार्फत् स्वामित्वभाव अभिवृद्धि गर्ने उनले बताए ।  साथै, स्थानीय तहमा हस्तान्तरण हुने अनुदानमा सशर्त अनुदानको मात्रा घटाउँदै निशर्त अनुदानमा अभिवृद्धि गर्दै जाने उनले बताए ।  

सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकास र विद्युतीय प्रणालीमा आधारित सेवा प्रवाहलाई जोड दिने गरी बजेट बन्ने उनको भनाइ थियो । जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिँदै अधुरा र दायित्व सिर्जना भइसकेका आयोजनाहरु सम्पन्न गर्ने उनले बताए । 

बजेट प्रस्तुत गर्दा सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, विस्तृत डिजाइन, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मुल्याङ्कन तथा रेखाङ्कन सुनिश्चितता भइसकेकालाई प्रथामिकता दिने उनले जानकारी दिए । ‘ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदा र अन्य पर्यटकीय स्थलहरुको खोज, पर्यटन पूर्वाधार विकास र प्रवद्र्धन गरी आन्तरिक आय अभिवृद्धि गरिनेछ,’ उनले भने । 

बजेटले प्रदेशका सम्भाव्य स्थानहरुमा कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम, चक्लाबन्दीमा आधारित सामूहिक खेती, बाँझो जग्गामा खेती गर्नेजस्ता प्रोत्साहनमूलक कार्यक्रम गर्ने उल्लेख छ ।  उनले अगाडि भने, ‘अनुसन्धानमूलक शिक्षामार्फत् खोज अन्वेषण प्रवद्र्धन गर्न बजेटमा जोड दिइनेछ ।’

jit parkesh ale (1)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप