शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

अब त अति भो

शनिबार, १३ जेठ २०८०, ०७ : ४७
शनिबार, १३ जेठ २०८०

भरोसाको जग हल्लेको छ 
तिम्रो चतुर्‍याइँको कम्पनले
देशको स्वाभिमान चुर चुर भएर
लाजको घुम्टो ओढ्न 
विवश बनेको छ ।
विश्व सामु
तिम्रो बठ्याइँको कारण 
सगरमाथा गौरीशङ्कर साथमा लिएर
लुम्बिनी पुगी बुद्धको आँसु पुछ्दैछ ।
तिम्रो घातले बलात्कृत भएको विश्वास
मनलोकको आइसियुमा उपचार हुँदैछ ।
मागेको कुरा दिन केही बाँकी रहेन
रगत माग्यौँ रगत दिएँ 
जीवन माग्यौँ जीवन दिएँ 
आफ्नो भोक बिर्सेर 
तिम्रो भोक मेटाएँ 
पैसाको अभाव भयो भन्यो
पैसा कमाउन अरब छिरेँ 
अब त अति भयो ।

एकदमै चमत्कारी बात गर्थ्यो
संसारमाकै नमुना देश बनाउँछु भन्थ्यो 
तरङ्गहरूको सुनामी ल्याएर 
झुटो आश्वासनको पिरामिड ठड्याएर
सिधासोझा मनहरूलाई 
छल गरेर छल्यो 
जालझेल, ठगठाग गरेर
जनताबाट सङ्कलन गरेको राजस्व
ठेकदार, ठुला घरानियाँबाट उठाएको पैसाले
एक छाक मीठो ख्वाएर 
विश्वास धितो राखेर 
भोट बटुलेर जित्यो ।
तिम्रो स्वार्थ पूरा गर्न 
सन्धि, सम्झौताको रोगन लगाएर
बन,जंगल, खोलानाला 
छिमेकीलाई दान गर्‍यो
हेरिरहे टुलुटुलु, सहिरहे सहजै 
तर, अब त अति भएन र ?

स्वाधीनता र स्वाभिमानको निम्ति 
लडेका बलभद्र कुँवर र भक्ति थापाहरूको
गौरवमय इतिहासको सम्झना आउँदैन ?
यहुदीहरूलाई जिउँदै ग्याँस च्याम्बरमा जलाउने
क्रूर तानाशाही हिटलर तर्सिने
गर्विलो इतिहास बोकेको 
वीर गोर्खालीहरूको गौरव गाथाले
मनमा अलिकति सङ्कोच लाग्दैन ?
बगरेले किनेको पशुलाई जसरी 
मोलतोल गरेर तिम्रो देशको जनशक्ति
युवायुवती 
कौडीको दामासाहीमा बेचिरहँदा
अलिकति लाज लाग्दैन ?
त्यहीँ बेचिएको मान्छेबाट आएको द्रव्यमा
हालीमुहाली गर्दै, मोजमस्ती गर्दै गर्दा
तिमी भित्रको तिमीलाई अप्ठ्यारो हुँदैन ?
अब त अति भएन र ?

झुटले भरिएको तिम्रो रक्तनलीमा 
बगेको तिम्रो कालो रगत
अहङ्कारले भरिएको,
तिम्रो मनको उधारो कुरा 
व्यक्तिगत स्वार्थमा लिप्त भएर,
साधु र चोर छुट्याउनु नसक्ने 
तिम्रो मगज
हिजो के भनेर राजनीतिको 
गाडी हाँकेको थियो ?
आज 
राजनीति शब्दको खिल्ली उडाएर 
के के गर्दै छौ ?
आफ्नो देशको नागरिकलाई
अन्तै देशको शरणार्थी 
अनागरिक बनाएर
बेच्दै गर्दा 
मनमा पैसा शिवाय अर्थोक केही आएन ?
वीवीसी, सीएनएन, अलजजिराले 
फुके तिम्रो खबर 
बेग्लाबेग्लै मान्छेले 
बुझ्ने भाषामा फुक्दैछ
तिम्रो हर्कतले,
तिम्रो लवस्तरोपनले
परको देश परदेशमा 
तिमीहरुको सपना पूरा गर्न 
रगत, पसिनाको 
ब्यवसाय गर्दै गरेको
युवा वर्गको 
मन कुँडिएको छ ।
पराई भूमिमा पाएको रेपोटेसन
पानीको फोका जसरी फुटेको छ ।
अझै दम्भको काया जीवित छ, 
तिम्रो जीवनमा ।
त्यसैले त 
थुप्रै दिन फरार सूचीमा परेर
स्वाट्ट दुनियाँ सामु प्रकट हुँदा
युद्ध जितेको योद्धा जसरी 
हत्कडी बिनाको हात हल्लाउँदै 
प्रशन्न मुद्रामा
केरकार शाखामा हाजिर हुँदैछ  ।
                                   
काभ्रे, पाँचखाल 
हालः लिमासोल, साइप्रस 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप