शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटलाई राजधानीसँग जोड्न सुरुङमार्गले पूर्णता पाउन जरुरी छ : सभामुख घिमिरे

शनिबार, १३ जेठ २०८०, २० : २८
शनिबार, १३ जेठ २०८०

विदुर । सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताएका छन् । आज दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्नुहुँदै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताए  ।

काठमाडौँको टोखा हुँदै नुवाकोट आउनुभएका सभामुख घिमिरेले भने, “टोखा–छहरे सुरुङमार्ग निर्माणको कुरा धेरै सुनिएको छ । सुरुङमार्ग चाँडो निर्माण हुनु आवश्यक छ । सुरुङमार्ग निर्माण भएमा नुवाकोटको कायापलट हुनेछ ।”
सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङमार्गको भूमिका हुने बताए । उनले सुरुङमार्ग सुरुमा धेरै खर्च लाग्ने भए पनि यसले दीर्घकालीन फाइदा दिने भएकाले निर्माण आरम्भ गर्नका लागि सबैको ध्यान जानुपर्ने बताए ।

उनले नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितको योगदान उच्च रहेको बताए । शिक्षासेवी, राजनीतिज्ञ, वाम लोकतान्त्रिक आन्दोलनमा अगुवा पण्डितको शैक्षिक तथा भौतिक विकासको सपना पूरा गर्न सकेमात्र उहाँप्रति उचित सम्मान हुने उनले धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको पूर्वी भेगको राजनीतिक जागरण र शैक्षिक जागरणमा गणेश पण्डितको योगदान उल्लेखनीय रहेको बताए । 

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, एमालेका पूर्वसांसद नारायणप्रसाद खतिवडालगायतले पण्डितले जिल्ला र राष्ट्रको विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

एक दशकभन्दा लामो समय जिल्लाको पूर्वी भेगका विभिन्न विद्यालयमा शिक्षक भएर काम गरेको पण्डित विसं २०४२ को बमकाण्डमा पक्राउ परी १४ महिना जेल परेका थिए ।

विसं २०४८ को निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका वामपन्थी नेता पण्डितको २०७६ सालमा ७३ वर्षको उमेरमा निधन भएको थियो । पण्डित २००३ सालमा शिखरबेँसीमा जन्मिएका थिए । गणेश पण्डित स्मृति केन्द्रको अगुवाइमा उनको सालिक निर्माण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप