आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति

संसदीय सुनुवाइ समितिको सभापतिमा कार्कीको सम्भावना

आइतबार, १४ जेठ २०८०, १९ : ५०
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की संयुक्त संसदीय सुनुवाइ समितिको सभापति बन्ने सम्भावना देखिएको छ । संसदीय सुनुवाइ समिति सदस्यमा कांग्रेसबाट कार्की, जीवन परियार, रमेश लेखक र ईश्वरी न्यौपाने रहेका छन् ।  कांग्रेसबाट समितिको सभापतिमा कार्कीको दाबी गरेको कांग्रेस संसदीय दलको कार्यालय स्रोतले रातोपाटीलाई बतायो । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्कीलाई सभापति बन्ने योजनासहित संसदीय समितिमा पठाएको स्रोतको दाबी छ । यद्यपि जीवन परिवार र न्यौपाने पनि समितिको सभापतिमा आकाङ्क्षी छन् ।

कांग्रेस सहमहामन्त्री परियार देउवा इतर खेमाका हुन् भने न्यौपाने पनि देउवाको विश्वास पात्र मानिन्छन् । न्यौपानेलाई संसदीय दलको सचेतकले सेवा संविधान नपाउने भएपछि न्यौपानेको पनि सभापतिमा रुचि छ । समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरू, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने गरेको छ ।

समितिमा कांग्रेस र एमालेका ४–४ जना सदस्य रहेका छन् भने माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपाका १–१ रहेका छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् । त्यसैगरी माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मा मनोनीत भइसकेका छन् । वैशाख १३ गते नै उनीहरू मनोनीत भइरहेका थिए । कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संसदीय सुनुवाइ सभापतिको नेतृत्व कांग्रेस गर्ने पूर्व सहमति छ । वैशाख ३१ मा बसेको तीन दको बैठकमा सुनुवाइ समितिको सभापति कांग्रेसले पाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ । यस्तै एमालेलाई थप एउटा समितिको सभापति दिने तीन दलबीच सहमति भएको छ । प्रतिनिधिसभाका ८ विषयगत समितिको सभापति भने सत्तारुढ गठबन्धनबीच भागबन्डा हुने अवस्था छ ।

जसअनुसार सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र लोसपाबीच समिति सभापतिको नेतृत्वमा भागबन्डा हुनेछ । प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरू छन् ।

राष्ट्रियसभाका ४ वटा समितिमा कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीबाट एक–एक जनाले नेतृत्व गरेका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सभापतिमा कांग्रेसका प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा एकीकृत समाजवादीकी जयन्ती राई, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा माओवादीका मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा एमालेकी दिलकुमारी रावल थापा(पार्वती) छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप