शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

दलका कार्यकर्ता भर्ती केन्द्र बन्दै सार्वजनिक संस्थान

आइतबार, १४ जेठ २०८०, १९ : ०७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा रहेको सरकारले बताएको छ । आइतबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चालनमा रहेकामध्ये १९ वटा सार्वजनिक संस्थान घाटामा रहेको बताएका हुन् ।

उनका अनुसार २५ वटा सार्वजनिक संस्थान भने नाफामा छन् । ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा’ गर्दै सरकारले सञ्चालनमा रहेकामध्ये अधिकांश संस्थानलाई पुनर्संरचना वा निजीकरण गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

सञ्चालनमा रहेर पनि नाफामा आउन नसक्ने संस्थान खारेजी वा मर्जरको नीति समेत अघि बढेको अर्थमन्त्री डा. महतले बताए । यसअघि, जेठ ५ गते नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक संस्थान, बोर्ड र समिति मर्ज गर्ने घोषणा गरेका थिए ।

प्रति संस्थान ६७५ कर्मचारी

विभिन्न क्षेत्रमा सर्वसाधारणलाई सेवा दिने लक्ष्यसहित स्थापना गरिएका सार्वजनिक संस्थान विभिन्न दलका कार्यकर्ता भर्ती केन्द्रका रुपमा परिणत भएका छन् । सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा कुल २९ हजार ७३६ जना कर्मचारी छन् । यस आधारमा सरदर एउटा संस्थानमा ६७५ कर्मचारी पर्न जान्छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा सार्वजनिक संस्थानमा २८ हजार कर्मचारी थिए । यस्तै, २०७६÷७७ मा समेत सार्वजनिक संस्थानहरुमा २८ हजारभन्दा बढी कर्मचारी भर्ती भएका थिए ।

सार्वजनिक संस्थानलाई नेताहरुले कार्यकर्ता भर्ती केन्द्रका रुपमा विकास गर्दा राज्यले बर्सेनि अर्बौं रुपैयाँको भार ब्यहोर्नु परिरहेको छ ।

प्रशासनिक खर्च नै ३५ अर्ब

सार्वजनिक संस्थानको एक वर्षको प्रशासनिक खर्च ३५ अर्ब ४६ लाख रुपैयाँ रहेको देखिएको छ । सार्वजनिक संस्थानको स्थिति समीक्षामा उल्लेख भएअनुसार ४४ वटा सार्वजनिक संस्थानले वार्षिक प्रशासनिक खर्चमा ३५ अर्ब ४६ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । जबकि ४४ संस्थानमध्ये २५ वटा संस्थान मात्रै नाफामा छन् ।

प्राधिकरणले कमायो सबैभन्दा धेरै नाफा

नेपाल विद्युत् प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थान बनेको छ । नेपाल टेलिकमलाई पन्छाउँदै प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको शीर्ष स्थानमा उक्लिएको हो ।

प्राधिकरणले आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा धेरै नाफा आर्जन गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यसपछि, दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको तथ्यांक मन्त्रालयले दिएको छ ।

यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थानको तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा कमाउँदा नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

आयल निगम सबैभन्दा धेरै घाटामा

आर्थिक वर्ष २०७८/७९ मा ४४ वटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा ब्यहोरेको छ । निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो ।

यसपछि सबैभन्दा धेरै घाटा ब्यहोर्ने कम्पनीको सूचीमा नेपाल एयरलायन्स दोस्रो नम्बरमा छ । नेपाल एयरलायन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा ब्यहोरेको थियो ।

यसपछि, तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानले ३९ करोड ५४ लाख रुपैयाँ घाटा ब्यहोर्दा दुग्ध विकास संस्थानले ३७ करोड, नेपाल औषधि लिमिटेडले १३ करोड ८७ लाख रुपैयाँ घाटा ब्यहोरेको अर्थ मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप