आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कम्पनीहरुकै कारण थप लघुबीमाको लाइसेन्स बाँड्नु परेको हो : अध्यक्ष सिलवाल

आइतबार, १४ जेठ २०८०, २० : ००
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालका बीमा कम्पनीहरुकै कारण थप लघुबीमा कम्पनीका लाइसेन्स बाँड्नु परेको बताएका छन् । आइतबार युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीको थप लाइसेन्स नबाँडिने स्पष्ट पारे ।

अध्यक्ष सिलवालले भने,'मेरो कार्यकालमा थप लाइसेन्स आउँदैन, तपाईँहरू ढुक्क हुनुहोस्  । तर,  लघुबीमाको सन्दर्भ असन्तुष्टि हो भने त्यो फरक कुरा हो । अहिलेकै बीमा कम्पनीहरुलाई लघुबीमाको काम गर्न भन्दा कूल लघुबीमाको क्षेत्रको २ प्रतिशत पनि काम हुन सकेन । यसैले लघुबीमा हेर्ने छुट्टै बीमा कम्पनी ल्याउनु परेको हो' अध्यक्ष सिलवालले भने ।

बीमा कम्पनीहरुको मर्जर अहिलेकै पुँजी र कार्य क्षमताले थप पहुँच विस्तार र जोखिम धान्न नसक्ने देखेपछि प्राधिकरणले पुँजी वृद्धिको रणनीति लिएको अध्यक्ष सिलवालले बताए ।

चालू आर्थिक वर्षको जेठसम्ममा १९ वटा बीमा कम्पनीहरु मर्जरमा गइसकेको उनले बताए । 

बीमा प्राधिकरणले टाइमलाइन नै तोकेर गत चैत, २०७९ मा एक वर्षको समय दिँदै कम्पनीहरुलाई २०८० चैत मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउन निर्देशन गरेको थियो । निर्देशन अनुसार जीवन बीमा कम्पनीले न्यूनतम आफ्नो चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ । तर, तोकिएको समयमा सबै कम्पनीले तोकिएको पुँजी पुर्याउन नसक्ने देखिएपछि प्राधिकरणले थप समयको व्यवस्था गर्दै असार मसान्तसम्मको समय दिएको हो ।

अध्यक्ष सिलवालले केही समयअघिसम्म कमजोर अवस्थामा रहेका बीमा कम्पनीहरुको पछिल्लो समय सुधार भएको र मोफसल क्षेत्रमा समेत अहिले बीमाप्रति विश्वास र भरोसा बढेर गएको बताए ।

'केही वर्ष अघिसम्म कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन नसकेको थिएन । कति पय बीमा कम्पनीहरुले ४-५ वर्षमा पनि लाभांश वितरण गर्न नसकेको उदाहरणहरु हामीसँग छ । तर, अहिले कम्पनीको कारोबारमा सुधार भएसँगै लाभांश बाँड्न समेत सक्षम भएका छन्', अध्यक्ष सिलवालले भने ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले एक्कै खालको नभएर विविध खालको जनपक्षीय बीमा पोलिसी ल्याउनुपर्ने बताए ।

निर्जीवन बीमाको क्षेत्रमा काम गर्ने युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आजबाट ओौपचारिक रुपमै मर्जरमा गएका छन् । राम्रो स्टाटस रहेका दुई कम्पनी मर्जर भएर एक भएको युनाइटेड अजोड कम्पनी निर्जीवन बीमा कम्पनीहरु मध्येकै टप फाइभमा छिटै पर्ने युनाइटेड इन्स्योरेन्सका अध्यक्ष रविभक्त श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप