आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रलाई सु–संस्कृत बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ : उपराष्ट्रपति यादव

सोमबार, १५ जेठ २०८०, ०६ : १७
सोमबार, १५ जेठ २०८०

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गणतन्त्रलाई सु–संस्कृत बनाउने जिम्मेवारी हामी सबैको काँधमा भएको बताएका छन् । १६ औँ गणतन्त्र दिवसका अवसरमा यादवले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताए ।

यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैँ देख्न सकिरहेको सन्देशमा उल्लेख छ । 

उनले यसलाई थप परिष्कृत, सु–संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराए । “विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्दछ”, उनले भने।

शुभकामना सन्देशमा उनले भने, “हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व–पश्चिम, मधेस, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ । यसभित्र सङ्घीयता, समावेशिता र समानतामार्फत सबै क्षेत्र, भूगोल र तप्काले आ–आफ्नो अधिकारको उपयोग गर्दै नेतृत्व र प्रतिनिधित्व गर्न सफल भएकामा म खुसी व्यक्त गर्न चाहन्छु । ”

उपराष्ट्रपति यादवले कमीकमजोरीहरूलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प रहेकोमा जोड दिए । लोकतान्त्रिक  गणतन्त्र  भनेकै  जनताको  सामूहिक  भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको उनको भनाइ छ ।  

उनले भने “यो व्यवस्थाप्रति जनताको विश्वास जगाउन हामीले असल काम, सुशासन, रोजगारीका अवसर र मुलुकलाई समुन्नत बनाउने मार्गचित्रका साथ अघि बढ्नै पर्दछ ।” 
  
उनले गणतन्त्र दिवसले सामाजिक न्याय र सामाजिक रूपान्तरणमा तुलनात्मकरूपमा कमजोर देखिएका र पछि परेकाहरूलाई माथि उकास्ने प्रतिबद्धताका साथ मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैलाई उत्प्रेरित गर्ने अपेक्षा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप