बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णालीमा १६ औँ गणतन्त्र दिवस

‘पूर्वराजालाई डाँडा कटाउन नपरोस्, पाखातिर नै राम्रोसँग बसे हुन्छ’

सोमबार, १५ जेठ २०८०, १५ : ४०
सोमबार, १५ जेठ २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारको आयोजनामा सोमबार बिहान करिब ८ बजेबाट नै वीरेन्द्रनगरको सिटी हलमा ‘१६ औँ गणतन्त्र दिवस’ मनाउने कार्यक्रम सुरु भयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि प्रदेश प्रमुख, सभामुखदेखि प्रशासनिक निकायका सबै व्यक्तिहरु सहभागी थिए । 

तर, उक्त कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले मन्तव्यको केन्द्रविन्दुमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राखे । यसअघि शनिबार पूर्वराजा शाह वीरेन्द्रनगरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए । यद्यपि, त्यसको अघिल्लो दिन प्रदेश सभामा समेत राप्रपा सांसद र गणतन्त्र पक्षधर सांसदहरुबीच घोचपेच भएको थियो । 

शनिबार पूर्वराजा शाहले अहिलेका राजनीतिक दलहरुबाट देश संकटमा धकेलिरहेको र देशप्रति दलहरुको प्रेम नभएको अभिव्यक्ति दिएका थिए । उक्त विषयलाई लिएर आइतबारको संसदमा पनि कुरा उठ्यो । त्यसैले पनि गणतन्त्र दिवसको अवसरमा पूर्वराजाको सुर्खेत यात्रालाई भाषणको केन्द्रविन्दु बनाए । 

वर्तमान परिप्रक्ष्येमा दलहरुका कमजोरी सुधार्दै गणतन्त्रलाई सबल बनाउनतर्फ अग्रसर हुनुपर्ने कुरा सर्वत्र उठिरहे पनि प्रमुख राजनीतिक दलका नेताहरुले आफ्ना कमजोरी भन्दा पनि अधिकांश समय पूर्वराजमाथि दोषारोपण गर्दैमा बिताए । 

संघीय मन्त्री समेत भइसकेका एमाले संसदीय दलका नेता यामलाल कँडेलले त झन् पुरै समय पूर्वराजालाई चेतावनी मात्र दिइरहे । अरु भन्दा लामो समय बोलेका उनले राजालाई राप्रपाको अध्यक्ष बन्न आग्रह मात्र गरेनन्, राप्रपाका नेताहरुलाई ज्ञानेन्द्र शाहलाई अध्यक्ष मानेर अघि बढ्न सुझाव दिन भ्याए ।

 उनले अगाडि भने,‘हिजो हामीले जसरी गणतन्त्र प्राप्तिका लागि लडिरहेका थियौँ, आज फेरि गणतन्त्रमाथि प्रश्न उठिरहेको छ । एउटा व्यक्ति, एउटा पार्टी विशेषको गल्तीले हामीले प्राप्त गरेको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, बहुदलीय व्यवस्थाको विकल्प निरंकुशतन्त्र हुन सक्तैन ।’ 

‘सुध्रिएर अघि बढ्न सकेमात्रै गणतन्त्रलाई जनताको जीवनसँग संस्थागत गर्न सकिन्छ,’ कँडेलले भने,‘यदि अहिलेको राजनीतिक परिदृष्यबाट राजनीतिक दलहरु नसच्चिए ज्ञानेन्द्र शाहजस्ता बेलाबखत आएर कहिले हिन्दू धर्मका नाममा त कहिले केका नाममा झुण्डहरुले हाम्रो देशलाई पछाडि धकल्नेछन् ।’ 

कँडेलले अहिलेका राजनीतिक दलहरुले राम्रो काम गरिरहेका छैनन् भन्ने लागेको भए ज्ञानेन्द्र शाहलाई बाकस थापेर जनताका बीचमा आउन समेत आग्रह गरे । 

पूर्व मुख्यमन्त्री एवं काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै मन्तव्य सुरुवात गरेका थिए । उनले गणतन्त्र आएपछि कोही पनि मान्छे खान नपाएर मरेको नेपालमा रेकर्ड नभएको बताए । गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने भन्दै प्रजातन्त्रको विकल्पमा श्री ३ हुन नसक्ने पनि बताए । 

‘पछाडि फर्केर जाने हो भने श्री ५ बाट श्री ३ मा जानुपर्ने होला, यो कुरामा सबैले ध्यान दिनुपर्ने हुन्छ,’ शाहीले भने,‘हिजो एउटा प्रधानपञ्चको विरुद्धमा बोल्यौँ भनेपनि जेलको कठघरामा जानुपथ्र्यो । आज हामी तिनै जनता हौँ, प्रधानमन्त्रीको फोटोमा कुकुरको फोटो, मुख्यमन्त्रीको फोटोमा गधाको फोटो राख्यौँ भनेपनि हामी भन्ने गर्छौँ, यो त प्रजातन्त्र हो, गणतन्त्र हो, कसैलाई थुन्ने छेक्ने काम हुँदैन । यो कुरालाई बुझ्न जरुरी छ ।’ 

हिजो वीपी, पुष्पलाल र पछिल्लो चरण प्रचण्डले आन्दोलन र संघर्ष नगरेको भए आज नेपाल यो स्थितिमा नपुग्ने शाहीको भनाई थियो । अगाडि बसेका प्रदेश प्रमुखलाई देखाउँदै उनले भने, ‘गणतन्त्र नआएको भए तिलक परियार जस्ता एउटा दलितका छोरा कर्णालीको प्रदेश प्रमुख हुने अवस्था आउने थिएन ।’ 

माओवादी संसदीय दलका नेता मुख्यमन्त्री राजकुमार शर्माले त झन् पूर्व राजालाई डाँडो कटाउन नपरोस्, पाखातिर नै राम्रोसँग बसे हुन्छ भन्दै चेतावनी नै दिए । विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने काम भएको भन्दै शर्माले प्रश्न उठाउनेहरुका वरपर पनि को को छन् ? भन्ने आफूहरुलाई राम्रोसँग थाहा भएको बताए । 

‘गणतन्त्रको विकल्प पश्चगमन हुन सक्तैन, राजतन्त्र हुन सक्तैन । बरु, समाजवाद हुन सक्ला,’ शर्माले भने,‘जनताको लामो संघर्ष, महान् जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनको तागतका कारण अहिलेको व्यवस्था आएको हो ।’ 

साथै, उनले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको र देशलाई समृद्धिको मार्गमा लैजान पनि एक ठाउँमा हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप