बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

विद्युतीय व्यापार सम्झौतादेखि सीमानाकाका विषयसम्म उठाइने

मङ्गलबार, १६ जेठ २०८०, १७ : २२
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार भारतको चार दिने भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा उनले विशेष गरी विद्युत् व्यापार सम्झौतामा भारतको दीर्घकालीन साथ खोज्ने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे जानकारी दिन परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतले समेत विशेष महत्त्वको साथ हेरेको बताए । 

साउदका अनुसार बुधबार प्रधानमन्त्री प्रचण्ड दिल्लीस्थित भारतका लागि नेपाली राजदूतावासको कार्यक्रममा सहभागी हुनेछन् । बिहीबार प्रधानमन्त्रीले  समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेट गर्ने कार्यक्रम तय भएको जानकारी परराष्ट्रमन्त्री साउदले दिए । भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिबार नेपाल फर्कने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको दुई राज्य ईन्दौर र उज्जैनमा समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।  खास गरी भ्रमणमा विद्युतीय व्यापार, नेपाल–भारतबीचको पारवहन सन्धिको पुनरावलोकन, ट्रान्समिसन लाइन, बन्दरगाह निर्माण लगायतका विषयमा सम्झौता हुने जानकारी मन्त्री साउदले दिए । 

साउदका अनुसार चीनसँग हुने व्यापारको ठुलो हिस्सामा हिन्द महासागर प्रयोग भएकाले त्यसका लागि दीर्घकालीन रूपमा भारत सँगको पारगमनसन्धिमा समेत नेपालको जोड रहने छ । 

साथै, नेपालमा उत्पादित कृषि उत्पादनलाई भारतीय बजारसम्म पहुँच स्थापना गर्ने विषयमा समेत भ्रमणका क्रममा छलफल हुनेछ । सिमरा, महेन्द्रनगर, नेपालगन्ज, भैरहवा नाकाको स्तरोन्नति गर्न पनि सरकारले भारतसँग सहयोग माग्ने जानकारी मन्त्री साउदले दिए । साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरूको बारेमा छलफल गर्ने बताए ।

उनले भने, ‘कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै व्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यकता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरूको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यकता पनि भनिरहेका छौँ । नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्ने सकिने छ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जानेकुरामा हामी जानेछौँ । हाम्रो बीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ, सुमधुर सम्बन्ध छ, यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्त्वपूर्ण क्षेत्रलाई समेट्न कोशिस गरिरहेका छौँ । विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत् व्यापार गर्ने कुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्त्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।’

‘महाकालीमा नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्न पिथौरागढ र झुलाघाट पुल बनाउने कुरा लामो समयसम्म सहमति हुँदै आएको छ । त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा ठोस पहल हुने विश्वास हामीले लिएका छौं,’ मन्त्री साउदले भने,‘डोटी, दार्चुला र धार्चुलाको पुलको ठेक्का भइसकेर निर्माणाधीन अवस्थामा छ ।’ 

मन्त्री साउदले नेपाल–भारतका बीचमा धेरै मुद्दा भए पनि सिमानाको विषयलाई लिएर भएका घटनाका बारेमा पनि प्रधानमन्त्रीले समकक्षी मोदीलाई सुझाउने तयारी भएको बताए । उनले भने,‘सीमा लगायतका विषयलाई लिएर नेपाल–भारतबीच मन्त्रीस्तरीय, सचिव÷सहसचिवस्तरीय समिति छन् । तिनलाई निरन्तरता दिनुपर्ने कुरामा पनि प्रधानमन्त्रीले सुझाउनु हुनेछ ।’ 

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी बन्नेछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप