आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले भारतीय पक्षसँग इपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ : शंकर पोखरेल

मङ्गलबार, १६ जेठ २०८०, १८ : ११
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रबुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन् ।  

पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले  इपीजी प्रतिवेदन नेपाल–भारत सम्बन्धको नयाँ आधार–पत्र भएको उल्लेख गरे । 

उनले सो प्रतिवेदनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने कुरालाई प्रधानमन्त्री दाहालले भारतसँग विशेष जोड दिएर छलफल गर्नुपर्ने बताए ।  

महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्क समेत गरे  । भारतलाई नै सो प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हितमा हुनेतर्फ पनि उनले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।  

महासचिव पोखरेलले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताए ।  

कार्यक्रममा बोल्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाध्नका लागि आग्रह गर्नुपर्ने बताए । 

भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भएपनि कुरा राख्नुपर्ने उनको भनाई थियो । 

सीमाविद् श्रेष्ठले नेपालको सीमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले कुरा गर्छन् भनेर आफूले विश्वास नगरेको पनि बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप