शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
काेशी प्रदेश

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियाे

बुधबार, १७ जेठ २०८०, १२ : ११
बुधबार, १७ जेठ २०८०

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।  सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरु माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा कांग्रेसले जोड दिइरहेको थियो । जसपाको यो निर्णयसँगै कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । जसपाले सरकारबाट फिर्ता आउने विषयमा गरेको निर्णबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागेको छ । ‘हामीले गरेको निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी दिन्छौं,’ जसपाका प्रदेश अध्यक्ष दिपक याख्खाले भने, ‘अहिले नै सबै कुरा भन्नु जरुरी छैन ।’   

जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ । ‘सम्भवतः माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिन्छ होला,’ जसपा स्रोतले भन्यो ।

प्रदेशमा जसपाको एक जना सांसद लिम्बू मात्रै हुन् । संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा  (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद छन् ।

केन्द्रको सत्ता गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । तर सभामुख गठबन्धन दलबाटै भएको कारण विश्वासको मत लिने समयमा भने त्यो सङ्ख्या ४६ मात्रै हुनसक्छ । यद्यपि कांग्रेस–माओवादी गठबन्धन दलले राप्रपालाई पनि सँगै लिएर जाने प्रयास गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप