आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार सुधारको अपेक्षा

बुधबार, १७ जेठ २०८०, १३ : ५२
बुधबार, १७ जेठ २०८०

केही वर्षअघि पुँजी बजारको ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क, वित्तीय संस्था र बिमा कम्पनीले ओगटेको थिए । बैङ्क, बिमा जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको सेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्ज (नेप्से)को तथ्याङ्क छ । 

खास गरी सेयर बजारमा जलविद्युत् कम्पनीहरूको उपस्थिति बढिरहँदा बैङ्कहरूको हिस्सा भने घटेको देखिन्छ । पछिल्ला वर्षहरूमा हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर जारी गरेर पैसा सङ्कलन गरिरहेका छन् । त्यस कारण पनि पुँजी बजारमा बैङ्क तथा बिमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । त्यसमा बैङ्क तथा बिमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि काम गरेको छ । 

खास गरी सेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने धेरैको बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभ सङ्केत नै हो । किनभने नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र ऊर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छ । 

पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्टलगायत क्षेत्रको प्रवेश बढिरहेको छ । यसरी सेयर बजारमा क्रमशः क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले सेयर बजारमा लगानीको आकर्षण र उपस्थितिसमेत बढाएको छ । 

विगतमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछिको प्रभाव, रुस–युक्रेनबिच चलेको युद्धको प्रभाव र आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको सेयर बजारमा पनि भयङ्कर ठुलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता सङ्कटको कारण बढेको ब्याजदर र सेयर बजारप्रति नेपाल राष्ट्र बैङ्कको कसिलो नीतिका कारण बजार घटेको हो । १८०० अङ्कबाट पनि तल झरिसकेको नेप्से परिसूचकाङ्क अहिले १९ सय विन्दुमा आइसकेको छ । अब क्रमशः सेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि सेयर बजारको संरचनागत सुधार गर्ने, कसिला नीतिहरूमा पुनर्विचार गर्दै गैरआवासीय नेपालीलाई पनि सेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । अब बजेट र मौद्रिक नीतिले पनि त्यहीअनुसार सेयर बजार सम्बन्धमा सम्बोधन गर्ने अड्कल काटिएका छन् । जसले लगानीकर्तामा आशा जागृत गराएको छ ।

२०७९ चैत मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २ सय ४८ रहेका छन् । सूचीकृत कम्पनीमध्ये १४१ बैङ्क–वित्तीय संस्था तथा बिमा कम्पनी, ६९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ ब्यापारिक संस्था र ३ अन्य रहेका छन् । सो अवधिमा नेप्सेमा सूचीकृत सेयरको चुक्ता मूल्य ७ खर्ब १९ अर्ब १९ करोड रहेको छ । कुनै बेला ३३ सय अङ्कमा मार्केट पुगेको बखत ४० खर्बको पुँजीकरण भएको सेयरबजार अहिले २८ खर्ब हाराहारीमा सीमित भएको देखिन्छ । खासगरी सेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएका कारण त्यो नभएको देखिन्छ । तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरू बढिरहेका छन् । 

यसरी नेपालको सेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तवमा सेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । 

पछिल्लो दशक नेपालमा पनि सेयर बजारप्रति आम सर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र सेयर बजारले नै दर्साउँछ । त्यस कारण पनि सेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठुल्ठुला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको सङ्कलन गर्ने महत्त्वपूर्ण माध्यम हो पुँजीबजार । त्यस कारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्त्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आम राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ । 

अहिले नेपालमा सेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरूको सङ्ख्या २०७९ चैतसम्ममा ५६ लाख ५५ हजार नाघिसकेका छन् । त्यसमा महिलाको सङ्ख्या नै २४ लाख नजिक पुगेको तथ्याङ्क छ । यद्यपि आर्थिक मन्दी, तरलता सङ्कटलगायत कारण सेयर बजार सुस्ताउँदा अहिले सयर बजारका सक्रिय लगानीकर्ता २०–२२ लाख रहेका छन् । जेहोस् पछिल्लो वर्षहरूमा नेपालमा सेयर बजारप्रति बढेको आकर्षण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ । 

अहिले प्रचण्ड नेतृत्वको सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैङ्कको चर्को ब्याजदरविरुद्ध व्यसायीहरूले गरेको आन्दोलनले ठुलो दबाब परेको हो । सरकारले पनि ब्याजदर एकल अङ्कमा झार्ने हिसाबको कुरा गरिरहँदा बजेटमा त्यसको प्रभाव पर्ने देखिन्छ । बैङ्कहरूको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैङ्कको ब्याजदर घट्दा विगतदेखि नै सेयर बजार बढ्ने गरेको दखिन्छ । त्यस कारण आगामी दिनहरूमा बजार क्रमशः बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेट लगत्तै आउने मौद्रिक नीतिले पनि सेयर बजारलाई अधिकतम प्रभाव पार्ने गर्छ । सेयर बजारलाई कता डोर्याउने भन्ने कुरमा मौद्रिक नीतिको धेरै भूमिका हुने गर्छ । यद्यपि मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ । 

गत वर्ष मौद्रिक नीति सेयर बजार र घरजग्गाप्रति कसिलो बनाइएको थियो । यस पटक केही खुला गर्ने कुरा अर्थमन्त्रीले नै सार्वजनिक मञ्चहरूमा बोल्दै आएका छन् । गत वर्षहरूमा नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४–१२ को नीतिले पनि सेयर बजारको गतिशीलतालाई कमजोर बनाएको हो । विगतमा ३३ सय अङ्कको नेप्से परिसूचकाङ्क पुगिरहँदा बजारमा एकै दिन २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो । गत वर्षको असोज कात्तिकबाट सुस्ताएको बजारमा अहिले भने दैनिक एक अर्बमुनिको कारोबारमा पुँजीबजार सीमित छ । यी सबै पेचिला अवस्था भए पनि अहिले भने क्रमशः अवस्था फेरिँदैछ । वित्तीय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्याङ्कीय हिसाबले सबल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैङ्कको गभर्नर महाप्रसाद अधिकारले नै अर्थतन्त्र तथ्याङ्कीय रूपमा सबल बन्दै गएकाले बजारमा त्यसको सकारात्मक प्रभव क्रमशः पर्दै जाने बताइरहका छन् । 

अहिले ब्याजदर केही घटिरहेको छ । आगामी मौद्रिक नीतिमार्फत ब्याजदर अझै घट्ने आशा नागरिकले गरेका छन् । बजेटमार्फत सेयर बजार सम्बन्धमा केही सकारात्मक प्रयास हुने सङ्केत पनि नीति कार्यक्रमले दिइसकेको छ । त्यस कारण अब कुनै पनि हिसाबले सेयर बजार उकालो लाग्ने देखिन्छ । 

सेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आम सर्वसाधारणले बुझिसकेका छन् । बुझक्कड कतिपय नेताहरूले विगतमा सेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरूले समेत आफ्ना बुझाइमा करेक्सन गरिसकेका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै सेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्साइरहेका छन् ।

सरकारले पनि सेयरबजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरुरी छ । सेयर बजारले सर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलि अलि भएको पैसाले आइपिओ भर्ने, सेयर किन्ने गर्दा मान्छेले पैसाको महत्त्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् । अहिले सेयर बजारमा धेरै मान्छे आकर्षित भएकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहणीको उपमा दिएका महिलाहरूको सङ्ख्या नै सेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिक क्षेत्रमा महिला कति सशक्त रूपमा आइरहेका छन् भन्ने पनि दर्साउँछ । अर्को सेयर बजारबाट सरकारले १५ अर्बसम्म कर विगतमा पाएको हो । त्यस कारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सकारको आर्थिक समृद्धिको नारा फगत गफमा सीमित हुन्छ । 

  अतः अर्थतन्त्र सुधार हुँदै गएको, कारोना र रसिया युक्रेन युद्धको प्रभाव कमजोर हुँदै गएको, तरलता सहजता हुँदै गएको ब्यादजर, घट्दै गएको र सरकारको ध्यान पनि पुँजीबजार सुधार्नेतर्फ गएको हिसाबले आगामी दिनमा बजारले उकालो यात्रा तय गर्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिसव गौतम
रिसव गौतम
लेखकबाट थप