शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर

बिहीबार, १८ जेठ २०८०, २० : ०९
बिहीबार, १८ जेठ २०८०

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् । दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १८९ जनाको मुटुको जाँच इसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्स-रे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका २९ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ५४ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीका सञ्चालकसमेत रहेका सांसद शर्माले रेफर भएका बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइदिएका छन् । बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था भने आठबीस नगरपालिकाले मिलाउनेछ ।

सांसद शर्माका अनुसार सो टोलीले बिहीबार दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा पनि शिविर सञ्चालन गरेर बिरामीहरूको निःशुल्क उपचार गर्नेछ । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप