शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु

शुक्रबार, १९ जेठ २०८०, २० : ४५
शुक्रबार, १९ जेठ २०८०

नयाँ दिल्ली । भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन्  । 

ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।

बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ ।

मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत  मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो । झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।

स्थानीय  सञ्चार माध्यमकाअनुसार मणिपुरको कुल जनसङ्ख्याको करिब ५३ प्रतिशत मेइतेई समुदायका मानिसहरू छन् र ती अधिकांश इम्फाल उपत्यकामा बस्छन्।  त्यसैगरी नागा र कुकी समुदायका जनजातिको जनसङ्ख्या ४० प्रतिशत  छ र तिनीहरू राज्यका पहाडी जिल्लाहरूमा बसोबास गर्छन्।

हाल शान्ति  र अमनचैन कायम गर्न भारतीय सेना र अर्धसैनिक असम राइफलका १०,००० भन्दा बढी सुरक्षाकर्मीहरू  त्यहाँ तैनाथ गरिएको छ ।

चर्को हिंसाका बीच गृहमन्त्री अमित शाहले राज्यमा चार दिनसम्म  स्थलगत भ्रमण गरेर स्थितिको समीक्षा गरेका छन् । भ्रमणको अन्तिम दिन बिहीबार मन्त्री शाहले झडपको न्यायिक छानबिन छिट्टै थाल्ने घोषणा गरेका छन् ।

मणिपुरका गभर्नर अनुसुया उइकेको नेतृत्वमा सबै राजनीतिक दलका प्रतिनिधिसहितको शान्ति समिति पनि राज्यमा हिंसालाई शान्त पार्नको लागि लागिपरेको छ ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप